यस्तो बन्यो नयाँ टीम (नामावलीसहित)
नेपालगन्ज २ पुष : नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत नयाँ नेतृत्वको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भइसकेका छन् । पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा भएको मतदानबाट सभापतिमा देउवा निर्वाचित भएका हुन् ।
पदाधिकारीमा अधिकांश देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन् । तर, शक्तिशाली मानिने महामन्त्री पदमा भने देउवा समूहका दुवै उम्मेदवार आउन सकेनन् । काँग्रेस सभापतिको लागि पहिलो चरणमा देउवा, शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा थिए । सोमबार सम्पन्न पहिलो चरणको निर्वाचनमा जम्मा ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मतदात गरेका थिए । यो मध्ये देउवाले २,२५८ मत ल्याए कोइरालाले १,७०२ मत मत प्राप्त गरे । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधि २५० र कल्याण गुरुङ २२ मत प्राप्त गरे । कूल खसेको मतमध्ये ७६ बदर भएको जनाइएको छ ।
दोस्रो चरणमा धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भयो । दोस्रो चरणमा २७३३ मत ल्याएर देउवा विजयी हुँदा अर्का उम्मेदवार कोइरालाले पहिलो चरणको मतलाई बढाएर १८५५ मत ल्याए । दोस्रो चरणमा देउवालाई पहिलो चरणमा सभापतिमा पराजित तीनै उम्मेदवारले समर्थन गरेका थिए ।
सभापतिमा दोहोरिएका देउवाको प्यानलबाट बहुमत सदस्य पदाधिकारीमा निर्वाचित भएका छन् । तर, महत्वपूर्ण पदमा भने इतर पक्षका नेताहरु निर्वाचित भएका छन् । देउवा पक्षबाट पदाधिकारीमा सभापति १, उपसभापति १ र सहमहामन्त्री ६ जना निर्वाचित भएका छन् । संस्थापनइतर (शेखर कोइराला) पक्षबाट उपसभापति १, महामन्त्री २ र सहमहामन्त्री २ जना निर्वाचित भएका छन् ।
शुक्रबार साँझसम्म सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री गरेर १३ पदाधिकारी निर्वाचित भइसकेका छन् । निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भए ।
सहमहामन्त्रीमा जीवन परियार, बद्री पाण्डेबाहेक सबै देउवा समूहकै हुन् । कोषाध्यक्ष भने सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई मनोनीत गर्नेछन् । अहिले निर्वाचित १३ पदाधिकारीमध्ये देउवा स्वयम र उपसभापति खड्कामात्रै काँग्रेसको यसअघिको पदाधिकारीमा भएका व्यक्ति हुन् । अरु सबै नयाँ अनुहारले देउवा नेतृत्वको पदाधिकारी ढाकेका छन् ।
पदाधिकारीमा उपसभापति दुई जनामध्ये खड्का देउवा समूहकै हुन् भने गुरुङ शेखर कोइराला समूहका हुन् । त्यस्तै महामन्त्रीहरू थापा शेखर कोइराला समूहका हुन् भने शर्मा प्रकाशमान सिंह समूहका हुन् ।
१४ औं महाधिवेशनपछि यस्तो बन्यो काँग्रेस पदाधिकारीको टीम :
सभापति : –शेरबहादुर देउवा
उपसभापति:
–पूर्णबहादुर खड्का (देउवा पक्ष)
–धनराज गुरुङ (शेखर कोइराला पक्ष)
महामन्त्री :
–गगनकुमार थापा (शेखर पक्ष)
–विश्वप्रकाश शर्मा (प्रकाशमान सिंह पक्ष)
सहमहामन्त्री :
देउवा पक्ष :
–डिना उपाध्याय (महिला)
–भीष्मराज आङदेम्बे (आदिवासी जनजाति)
–फरमुल्लाह मन्सुर (मुस्लिम)
–किशोर सिंह राठौर (खस आर्य)
–उमाकान्त चौधरी (थारू)
–महेन्द्र यादव (मधेशी)
शेखर पक्ष :
–जीवन परियार (दलित)
–बद्री पाण्डे (पिछडिएको क्षेत्र)