अकोराबको साधारणसभा भब्य बनाउन छलफल


अकोराबको साधारणसभा भब्य बनाउन छलफल

नेपालगन्ज ८ पुष : सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को आसन्न साधारणसभा सफल बनाउने बिषयमा नेपालगन्जमा छलफल गरिएको छ । आगामी फागुन १ र २ गते नेपालगन्जमा हुने साधारणसभालाई सफल बनाउने विषयमा बाँकेका सामुदायिक रेडियोका प्रमुखहरुको बैठकमा छलफल भएको हो ।

बुटवलमा बसेको अकोराबको बैठकबाट फागुन १ र २ गते विश्व रेडियो दिवसको अवसर पारेर नेपालगन्जमा साधारणसभा गर्ने निर्णय भएको थियो । बाँकेका विभिन्न रेडियोका प्रमुखहरुले साधारणसभालाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न आ–आफ्नो तर्फबाट सुझाब दिएका थिए ।

साधारणसभामा स्थानीय आयोजक बाँकेका सम्पूर्ण रेडियोहरुलाई राखी तयारीको कार्य अगाडी बढाउन अकोराबबाट खाका तयार हुनुपर्ने, स्थानीय श्रोत साधन जुटाउनलाई स्थानीय सरकारसँग सहयोग माग्ने, त्यसका लागि स्थानीय तहमा प्रस्ताब पेश गर्ने, साधारणसभा हुने प्रदेश भएको नाताले लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका पालिका प्रमुख र प्रशासकीय अधिकृतहरुसँग छलफल गर्नुपर्ने लगायतका सुझाबहरु आएका छन् ।

साधारणसभाबाट देशव्यापी रुपमा असल सन्देश जाने भएकोले प्रदेश सरकारको सहयोग लिने, साधारणसभामा स्थानीयता झल्कने (स्थानीय धार्मिक स्थलहरुको फोटो राखेर) छुट्टै लोगो निर्माण गर्ने, साधारणसभामा वितरण गर्नको लागि स्मारिका निकाल्ने, साधारणसभालाई भव्य र सभ्य बनाउन केन्द्रले जिंगल तयार गरी साझेदार रेडियोहरुलाई निःशुल्क प्रसारण गर्न दिने, कोहलपुरदेखि जमुनाहा बोर्डरसम्म स्वागतद्वार तथा स्वागत ब्यानरहरु लगाउने, साधारणसभामा भाग लिन आउने सहभागी सम्पूर्णलाई टी—शर्टको लागि पर्यटन बोर्ड, स्थानीय वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने, साधारणसभाको बिहान प्रभातफेरी गर्ने, प्रभातफेरीमा स्थानीय साइकलिंग क्लब र अन्य क्लबहरुसँग सहकार्य गर्ने, साधारणसभामा भाग लिन आउने सहभागीहरुको रिफ्रेस्मेन्टको लागि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय होमस्टे घुम्न चाहनेलाई सहजीकरणको लागि पर्यटन बोर्डसँग छलफल गर्ने लगायतका विषयमा छलफल भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अकोराबका बाँके जिल्ला अध्यक्ष मोहम्मद आरिफ अन्सारीको अध्यक्षता तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)का केन्द्रीय अध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यतामा भएको बैठकमा कृष्णसार एफएमका प्रमुख तुला अधिकारी, रेडियो सद्भावका प्रमुख नवीन गिरी, रेडियो भुवरभवानीका प्रमुख अर्जुन ओली र रेडियो कोहलपुरका प्रमुख बैकुण्ठ अधिकारीको उपस्थिति थियो । साधारणसभामा झण्डै ३ सय ६५ रेडियो, ३५ जना साझेदार संस्थाका पदाधिकारी तथा ५० जना अतिथिहरु गरी झण्डै ४ सय ५० जनाको सहभागिता हुने केन्द्रिय अध्यक्ष गिरीले बताए ।