नेपालगन्जलाई जेष्ठ नागरिकमैत्री बनाइदै


नेपालगन्जलाई जेष्ठ नागरिकमैत्री बनाइदै

नेपालगन्ज १२ पुष : नेपालगन्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिकमैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लब तथा क्लब सञ्जाल गठनका लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ । भने मस्यौदामाथी सुझाव संकलनको काम समेत शुरु भएको छ ।

प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा सुझाव संकलन कार्यक्रमबाट वडा नम्बर–२ का वडा अध्यक्ष सुनीलसिंह हमालको संयोजकत्वमा जेष्ठ नागरिकका प्रतिनिधी सम्मिलित मस्यौदा तयारी कार्यदल गठन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले जेष्ठ नागरिकको सवालमा उपमहानगरपालिका सधैँ गम्भीर रहेको बताउँदै जेष्ठ नागरिकले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताए ।

उपप्रमुख उमा थापा मगरले नेपालगन्जलाई जेष्ठ नागरिक नगर बनाउन काम थालिएको बताइन् । उपमहानगरपालिकाले जेष्ठ नागरिकको सेवा सुविधा लगायतका विषयमा नीतिगत निर्णय गर्न थालेको जानकारी दिदैँ उनले भविष्यमा यसको सकारात्मक प्रतिफल प्राप्त हुने विस्वास ब्यक्त गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले जेष्ठ नागरिकले समाजका लागि महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको सेवा सुविधाका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन् ।

नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले जेष्ठ नागरिकले पाउनुपर्ने सेवा सुविधाका लागि नीतिगत निर्णय गर्ने, भेरी सम्बद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, भेरी अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने, जेष्ठ नागरिकहरुको विशेषज्ञ समूह गठन गरि स्थानीय तहले उपयोग गर्न सक्ने लगायतका विषयमा छलफलमा उठेको बताइन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रत्येक वडामा वडास्तरमा जेष्ठ नागरिक क्लब गठन भई क्रियाशिल रहेका छन् ।