नेपालगन्ज १७ पुष : अंग्रेजी नयाँ वर्षको दिन मनाईने राष्ट्रिय टोपी दिवस नेपालगन्जमा भब्यताका साथ मनाईएको छ । बास नेपालको आयोजनामा नेपालगन्जको बिपि चोकमा टोपी दिवस मनाईएको हो । बासले बिगत ४ वर्ष देखि टोपी दिवस मनाउँदै आएको छ ।
पश्चिमा संस्कृति हावी भएको भन्दै २०७० सालदेखि काठमाण्डौंमा शुरु गरिएको टोपी दिवस अहिले देशैभर मनाउन थालिएको हो । टोपी दिवसको अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा धर्मगुरु, सामाजिक अगुवा, उद्योगी, व्यवसायी लगायतले सहभागिता जनाए ।
कार्यक्रममा बोल्दै अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका अध्यक्ष तथा बागेश्वरी मन्दिरका मुल महन्त मठाधिश चन्द्रनाथ योगीले राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि टोपी महत्वपूर्ण भएको बताउँदै नेपाली टोपीलाई राष्ट्रिय पोषाखको रुपमा अनिवार्य गर्नुपर्ने बताए ।
मञ्चका उपाध्यक्ष मुस्लिम धर्म गुरु मौलाना जव्वार मञ्जरीले टोपी राष्ट्रियताको प्रतिक भएको बताए । उनले टोपीको कारण संसार भर नेपाली भनेर चिनिने भएकाले सबैले टोपी लगाउनु पर्ने बताए । सधैंभर नेपाली टोपी लगाउने भएका कारण आफुलाई बिदेश जाँदा समेत बिदेशीहरुले नेपाली भनेर आफुलाई सम्मान र सहयोग गरेको उनले स्मरण गरे ।
संबिधानसभा सदस्य भोला सिद्दिकीले नेपाली टोपीलाई सरकारी पोषाखको रुपमा अनिवार्य गर्न सरकारसँग माग गरे । उनले भने–संसदमा टोपी अनिवार्य छ तर साँसदहरुनैं टोपी लगाउँदैनन्, सदन, सिंहदरबारदेखि तल्लो तहसम्मका सबै सरकारी निकायहरुमा टोपी अनिवार्य गरिदिनुपर्छ । उनले थपे–टोपी हामी सबैको गौरव हो, यसको संरक्षण र प्रयोग गरौं ।
कार्यक्रममा टोपीको महत्वबारे महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकी समाजशास्त्र बिभाग प्रमुख साबित्रा बस्नेत, समाजसेवी मिना श्रेष्ठ लगायतले चर्चा गरे ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै बासका कार्यकारी निर्देशक नमस्कार शाहले बिश्व मानचित्रमा नेपाली भनेर चिनाउने नेपाली टोपीको प्रयोगमा ह्रास आईरहेको उल्लेख गर्दै सार्वजनिक कार्यक्रममा टोपी अनिवार्य गर्न सरकारसँग माग गरे । उनले भने–बाह्य संस्कृतिले जरो गाडेका बेला अंग्रेजी नयाँ बर्षको दिन आफ्नै संस्कृतिलाई माया गरौं, संरक्षण गरौं, राष्ट्र, राष्ट्रियताका बारे चिन्तन गर्नका लागि सन्देश प्रबाह गर्न टोपी दिवस मनाउने गरिएको बताए ।
बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रमको समापन बासका निवर्तमान अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।