नेपालगन्ज १९ पुष : निर्वाचन आयोगका अनुसार देशभर ८ लाख बढि मतदाता थपिएकाछन् ।
निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियानमा यी मतदाता थपिएका हुन् । दोस्रो चरणको अभियान सम्पन्न हुँदा देशभर ८ लाख ३८ हजार मतदाता नामावली दर्ता भएको आयोगले जनाएकोछ ।
दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चलिरहेकोछ । भने जिल्ला स्तरमा चुनावको मिति नतोकिँदासम्म मतदाता नामावली कार्य निरन्तर जारी रहने आयोगले जनाएकोछ ।
यसअघि ०७८ मङ्सिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगले एक महिनासम्म गरिएको मतदाता नामावली सङ्कलन कार्यक्रम दुई चरण सञ्चालन गरेको थियो ।
मतदाता नामावली सङ्कलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र सहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो । यस्तै यसअघि मतदाता नामावली सङ्कलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालय निर्वाचन आयोगले सञ्चालन गरेको थियो ।
कानून अनुसार निर्वाचनमा भोट हाल्न पाउने उमेर भनेको १८ वर्ष हो । तर, निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नाम समेत सूचीकृत गरिरहेको छ । मतदाताका रूपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु पर्दैन तर, १६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रूपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ ।