कोहलपुर: संविधानले दिएको अधिकारलाई मिचेर कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र प्रर्दशन गरेको नेपाली काूग्रेसका केन्द्रीय नेताहरुले आरोप लगाएका छन् ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । राष्ट्रिय जागरण अभियान अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय नेताले भने–‘कम्युनिस्ट सरकारले संविधानको भावना विपरित जनताका अधिकारलाई लत्याएको छ ।’
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेस नेता एनपी साउदले कम्युनिस्ट नेतृत्वको सरकार जनताका अधिकारलाई लत्याउन अग्रसर रहेको बताए । संघीयता असफल पार्न सरकारले स्थानीय तहका अधिकारलाई कुण्ठित गरेको पूर्वमन्त्री साउदको भनाई छ । उनले नागरिकको बोल्न पाउने अधिकार, प्रेसले स्वतन्त्र पुर्वक लेख्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकार विभिन्न विधेयक ल्याएर अधिनायकवादी चरित्र देखाएको स्पष्ट पारे ।
चुनावका बेला दिएको आश्वासनलाई पुरा नगरी कम्युनिस्ट सरकारले जनताका अपेक्षा विपरित अघि बढिरहेकोछ । उनले ‘काँग्रेस नेतृत्वका बेला भएका विकास निर्माणको जस अहिलेको सरकारले लिने गरेको पूर्वमन्त्री साउदले बताए । ‘सुशील कोइरालाको पालामा म स्वयं सिँचाइ मन्त्री थिए, हाम्रै अग्रसरतामा भेरी बबई डाइभर्सनको काम सुरु भयो र तोकिएको समयभन्दा एक वर्ष अगाडि सुरुङ निर्माणको काम सकियो’, उनले भने, काँग्रेसको पालामा भएका विकास कार्यको यतिवेला कम्युनिस्ट सरकारले जनतामा भ्रम छरेर जस लिने काम गरिरहेको छ ।
सभामा सहभागि अर्का केन्द्रिय नेता चन्द्र भण्डारीले कम्युनिस्ट सरकारले देशलाई समृद्ध बनाउनै नसक्ने ठोकुवा गरे । उनले सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारामै सिमित बनाउदै नेपाली जनताका लागि कम्युनिस्ट सरकारले केही दिन सक्दैन, बरु हरेक निकायमा आफ्ना कार्यकर्ताको भर्ती केन्द्र बनाउन खोज्दैछ,’ केन्द्रिय सदस्य भण्डारीले भने ।
यस्तै सभामा बोल्दै काँग्रेस नेतृ डा. डिला संग्रौलाले दुई तिहाईको कम्युनिस्ट सरकारले लोकतन्त्रको मूल्य, मान्यता विपरितका क्रियाकलाप जारी राखेको भन्दै नेपाली जनताले यसको प्रतिवाद गर्नुपर्ने आवश्यकता औल्याईन् । हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेर अधिनायकवादी चरित्र प्रर्दशन गरिरहेको उनको भनाई छ ।
पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संविधानको जग भत्काउन लागेको आरोप लगाउदै जनताको लोकतान्त्रिक अधिकारलाई खोस्ने काम गरेको थापाको भनाई छ । उनले भने ‘जनताले कम्युनिस्ट पार्टीलाई संविधानको घर बनाउने जिम्मा दिएका थिए, तर सरकारले जग भत्काउन थाल्यो ।’ जनताका कुरालाई जस्ताको त्यस्तै लेख्ने मिडियालाई नियन्त्रण गर्न सरकारले निरंकुश शैलीमा मिडिया विधेयक ल्याउन लागेको उनले प्रस्ट्याए ।
हरेक निकायमा सरकारले हस्तक्षेप गरेर अधिनायकवाद लादेको युवा नेता थापाको तर्क छ । काँग्रेसले अहिलेसम्म शालिन भएर संसदमा प्रतिपक्षको भुमिका निर्वाह खेलेको बताउँदै उनले भने, ‘काँग्रेसले यो सरकारलाई संविधानको ट्रयाक भन्दा बाहिर जान दिँदैन, काँग्रेसको शक्ति नै जनता हो ।’
यस्तै पूर्व सिँचाइ मन्त्री एवम् काँग्रेस बर्दियाका सभापति संजय गौतमले कम्युनिस्ट अधिनायकवाद विरुद्ध जनताले प्रतिवाद गर्ने बेला आएको बताए । ‘कम्युनिस्ट अधिनायकवादका विरुद्ध नेपाली जनता सडकमा उत्रिनुपर्ने अवस्था आउनेछ’, सांसद गौतमले भने ।
नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइरालाले वर्तमान सरकारले आफूले गरेका भ्रष्टाचार र गलत क्रियाकलाप ढाकछोप गर्न प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाइन् ।
नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्यका अनुसार सोही सभामा तत्कालिन माओबादीद्वारा मारिएका चोकबहादुर खत्री र जागेश्वर थारुको सम्मानमा एक-एक लाख बराबरको अक्षय कोष स्थापना गरिएको छ ।
जागेश्वरको सम्मानमा कोहलपुर नगरपालिका वडा नम्बर १४ मा रहेको राम माध्यामिक बिद्यालय र खत्रीको सम्मानमा कोहलपुर–१० स्थित त्रिभुवन माविमा अक्षयकोष स्थापना गरिएको हो । उक्त रकमको ब्याजबाट जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने आचार्यले बताए ।
नेपाली काँग्रेस नेता, कार्यकर्ता, शुभेच्छुक, सर्वसाधरण लगात हजारौंको संख्यामा उपस्थित सो कार्यक्रममा विभिन्न पार्टी त्याग गरेर आएका पचास जनाले काँग्रेसमा प्रवेश गरेको आचार्यले जानकारी दिए ।