कोरोनासंगै बढ्यो इन्धनको मूल्य


कोरोनासंगै बढ्यो इन्धनको मूल्य

नेपालगन्ज ५ माघ : कोरोना संक्रमण बढिरहेका बेला नेपाल आयल निगमले तेलको मूल्य बृद्धि गरेकोछ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रति लिटर ३ रुपैयाँ बृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अब १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले बृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले बृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । समायोजन पश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र ग्यासमा ६४६.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

१५ दिनमा नै निगमले २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको यसअघि नै बताएको निगमको भनाइ छ । ६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको निगमको दाबी छ ।
आगामी जनवरी २३ मा तेल खरिद बापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।