नेपालगन्ज १६ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले २ महामन्त्री, २ उपाध्यक्षसहित २४ पदाधिकारी मनोनयन गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ती नेताहरुलाई पदाधिकारी तथा विभिन्न विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।
पार्टीको विधान अनुसार पदाधिकारी, विभाग प्रमुख र सचिवालयको सदस्य सचिव पदमा उनीहरुलाई अध्यक्ष लिङ्देनले आईतबारको बैठकमा मनोनयन गरेका हुन् । लिङ्देनले मंसिरमा भएको एकता महाधिवेशनपछि जारी मनोनयन प्रक्रियालाई अन्तिम रुप दिएका हुन् । उनले पार्टी उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई मनोनीत गरेका छन् ।
त्यस्तै पार्टीको महामन्त्री पदमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लाद प्रसाद साहलाई मनोनीत गरेका छन् । एकता महाधिवेशनबाट भुवन पाठक र कुन्ती शाही महामन्त्रीमा निर्वाचित भएका थिए ।
त्यस्तै लिङ्देनले सह–महामन्त्री बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवकी रीना गुरुङलाई मनोनीत गरेका छन् ।
पार्टीको प्रवक्तामा पनि विभिन्न नेतालाई मनोनीत गरिएको छ । लिङ्देनले पार्टी प्रवक्तमा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनीत गरेका छन् । त्यस्तै राप्रपा अध्यक्ष लिङ्देनले पार्टी सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रुपन्देहीका ताहिर अलि, नुवाकोटका दीपक कुमार राईलाई मनोनीत गरेका छन् ।
पार्टीको सहायक प्रवक्तामा दोलखाका प्रविण कुमार थोकर तामाङ, मोरङका दिनेश कुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई मनोनित गरिएको छ । राप्रापाले विभिन्न विभाग प्रमुख पनि तोकेको छ । अध्यक्ष लिङ्देनले विभिन्न ६ वटा विभागमा नेताहरुको मनोनयन गरेका हुन् । जुम्लाका रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिवमा मनोनयन गरिएको छ ।
यस्तै पार्टीको विभिन्न ६ वटा विभागमा निम्नअनुसार जिम्मेवारी दिइएकोछ ।
१. आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, भक्तपुर
२. धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा पुष्पराज पुरुष, ललितपुर
३. सूचना तथा प्रविधि विभाग प्रमुखमा रविन चाम्लिङ्ग, खोटाङ
४. तराई मधेश विभाग प्रमुखमा रामप्रताप साह ’भोला’, सिराहा
५. अभिलेख तथा मूल्याङ्कन विभाग प्रमुखमा मीना सुवेदी, काठमाडौं
६. सहकारी समन्वय विभाग प्रमुखमा सुदर्शन थापा, काठमाडौं
यता सहायक महामन्त्रीमा मनोनित भएका राप्रपाका युवा नेता ऋषिराज देवकोटाले पार्टीले दिएको जिम्मेवारीलाई आफ्नो कर्तव्य सम्झेर राप्रपालाई एउटा बलियो प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्न कुनै कसर बाँकी राख्ने सेतोखरीलाई छोटो प्रतिक्रिया दिए ।
यसअघि भएको महाधिवेशनमा बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपा नेता डा. धवलशमशेर राणा महामन्त्रीमा निर्वाचित भइसकेका छन् । भने राणापछि राप्रपाको पदाधिकारीभित्र बाँकेका युवा नेता देवकोटा पर्न सफल भएका हुन् । उनी राप्रपाको भातृ संगठन युवक संगठनका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।