श्रीमद भागवत् ज्ञान महायज्ञ पनि शुरु
डुडुवा (बाँके) ६ फागुन : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– ६ स्थित बकौली गाउँमा आकर्षक मन्दिर निमार्ण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधामको भौतिक पुर्वाधार निमार्ण गरिएको हो ।
नवनिर्मित मन्दिरको एक समारोहकाबीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गरे । मन्दिर उद्घाटन गर्दै धार्मिक मठ मन्दिरले मानवको मनमस्तिष्कमा सकारात्मक ज्ञानको प्रभाव श्रवण हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।
अध्यक्ष चौधरीले धार्मिक स्थलमा गएर एकछिन भएपनि मनलाई शान्ति बनाउने पवित्र स्थानमा भौतिक पुर्वाधारले मद्दत पुर्याएको भन्दै भक्तजन तथा साधुसन्तहरुलाई पुजापाठ, भजन किर्तन, प्रबचन तथा विभिन्न धार्मिक संस्कार गर्नका लागि उत्तम स्थान भएको बताए ।

उद्घाटन समारोहमा श्री नवतनधाम काठमाण्डौका गान्धीपति १०८ श्री अमृतराज महाराज, श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, उपमहासचिव नगेन्द्र खडका, केन्द्रीय सदस्य गोपालकृष्ण संजेल, भुपेन्द्रमान प्रधान, लिलाराम भारती, गाउँपालिका उपाध्यक्ष शाहीदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य नेतराम मौर्य लगायतको सहभागिता रहेको थियो ।
स्थानीय गंगासागर बर्मा र मालती प्रसाद बर्माले दान गरेको साढे तीन कठ्ठा जग्गामा सो मन्दिरको भौतिक पुर्वाधार निमार्ण गरिएको हो । गाउँपालिकाको रु ३९ लाखको लागतमा उक्त मन्दिरको निमार्ण गरिएको छ ।
यसैगरि उक्त मन्दिरको उद्घाटनसंगै श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पनि शुरु भएको छ । महायज्ञमा भारत बृन्दाबनका जानवीं किशोरी प्रमुख कथा वाचन गर्नेछन् भने अन्य पण्डित र सांस्कृतिक समुहको सहभागिता रहने जनाइएको छ ।