उत्कृष्ट आइडिया प्रस्तुत गर्र्ने विद्यार्थीलाई साढे तीन लाख रुपैयाँ पुरस्कार
नेपालगन्ज ८ फागुन : स्नातक तहमा अध्ययनरत विद्यार्थीबीच ‘दोस्रो ड्रिम बिग च्यालेन्ज–२०२२’ आयोजना हुने भएको छ ।
गैरआवासीय नेपाली सङ्घ अमेरिकाको साइन्स टेक्नोलोजी एण्ड इनोभेसन कमिटीले विद्याथीहरुमा क्रिटिकल थिङ्किङको विकास गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्नलागेको संघका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । सो प्रतिस्पर्धामा समूह कार्यबाट सिकाइ आदानप्रदान, क्रस कल्चर सिक्ने, सिकाइ सिप सिक्ने अवसर पाउने शिक्षा पत्रकार समूहद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष डा. माधव पाण्डेले बताए ।
नेपाल र अमेरिका विद्यार्थीहरुको संयुक्त रुपमा प्रतिस्पर्धा हुनेछ। प्रथम हुनेलाई तीन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार अमेरिकी डलर प्रदान गरीनेछ ।
ड्रिम विग च्यालेन्ज पहिलो चरणको कार्यक्रममा अमेरिकाका इलिमेन्टरी, मिडिल एण्ड हाइ स्कुलका सय विद्यार्थी सहभागी भएका थिए । पहिलो चरणको सो कार्यक्रम प्रभावकारी भएकोले नेपाल र अमेरिकाका विद्यार्थीका विचमा फेरी यो प्रतिष्पर्धा गर्न लागिएको उनले बताए ।
यो कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ युएसए र शिक्षा पत्रकार समूहविच सहकार्य हुनेछ । सीप क्षमता आदानप्रदान गर्ने र स्रोत प्रदान गरेर त्यसको परिचलनका विषयमा प्रस्तुत गरेका प्रस्तावका आधारमा राम्रो प्रस्तुतिलाई पुरस्कृत गरिने सम्मेलनमा जानकारी दिए ।
‘दुई देशका समकक्षी विद्यार्थीलाई समूह बनाइ आपसी सद्भाव, विश्वास, सम्बन्ध प्रगाढ लगायत सीप आदान प्रदान गर्न सक्छन्’, अध्यक्ष सुवेदीले भने, ‘यसको प्रभावकारितालाई हेरेर यसलाई विस्तार गर्न सकिनेछ ।’
यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित [email protected] मा इमेलमार्फत् आउँदो मार्च २० भित्र आवेदन दिन सक्नेछन् ।
त्यसपछि दुई सय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुपर्नाको कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ताभित्र पठाउनुपर्नेछ । सोही लेखनका आधारमा आवेदक मध्येबाट १०० विद्यार्थी छनोट गरिनेछ ।
यसरी छानिएका दुबै देशका विद्यार्थीहरुलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ । अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रुपमा बुझाउनुपर्नेछ । अन्त्यमा मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने जनाइएको छ ।