नेपालगन्ज २७ फागुन : सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनका लागि तयारी तिव्र पारिएकोछ । सामुदायिक रोडियो प्रसारक संघ (अकोराब) नेपालले अगामी चैत्र ९ र १० गते नेपालगन्जमा सामुदायिक रेडियो राष्ट्रिय सम्मलेन गर्दैछ । यसका लागि अकोराबले तयारी तिव्र पारेको जनाएकोछ ।
अकोराबले शुक्रबार नेपालगन्जमा पत्रकारहरुसंग छलफल गरेर राष्ट्रिय सम्मेलन तथा संघको १६औं साधारणसभाका बारेमा जानकारी गराएको हो ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले रेडियो सम्मेलन तथा साधारणसभामा रेडियोको भावी कार्यदिशा, प्रतिबद्धता र विभिन्न निकायहरुसंगको अपेक्षासहित नेपालगन्ज घोषणापत्र जारी गरिने बताए ।
देशभरीका सामुदायिक रेडियोबाट एक रेडियो एक प्रतिनिधि सहभागी रहने उक्त साधारणसभा तथा राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउबाले गर्ने बताइएको छ ।
अध्यक्ष गिरीले सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरिती तथा परम्परागत हानीकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने बताए ।
‘संविधानले व्यवस्था गरे अनुरुप तीन तहको सरकार निर्माण भइसके पनि कतिपय कानून निर्माण भइरहेकाले सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद गरिनेछ’ गिरीले भने ।
सम्मेलनमा ‘सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि एवं यस क्षेत्रका चुनौतीहरुका साथै सामुदायिक रेडियोहरुको अबको बाटो’ विषयमा छलफल गरिने अकोराबका कार्यकारी निर्देशक बालकृष्ण पोखरेलले जानकारी दिए ।
पत्रकार अन्तरक्रियामा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी, पत्रकार कृष्ण अधिकारी, रेडियो गुर्बाबा बर्दियाका कार्यकारी प्रमुख एकराज चौधरीले सम्मेलन तथा साधारणसभाको सफलताको शुभकामना ब्यक्त गर्दै सल्लाह सुझाब समेत दिएका थिए ।
कार्यक्रमको सहजीकरण अकोराबकी केन्द्रिय सदस्य एवम् रेडियो गुर्बाबाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले गरेकी थिइन् ।
सामुदायिक रेडियोको हक, हित र अधिकारका लागि वि.सं. २०५७ चैत्र ९ गते स्थापना भएको सामुदायिक रेडियो प्रसारक संघले दुई दशक पार गरिसकेको छ । सामुदायिक रेडियो देशका ७७ वटै जिल्लाहरुमा सञ्चालनमा छन् । हालसम्म सामुदायिक रेडियो प्रशारक संघमा देशभरी सञ्चालनमा रहेका ३६० रेडियो आवद्ध भइसकेका छन् ।