काठमाण्डौं २९ फागुन : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त अध्ययनबिनै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने र नेतृत्व गर्ने प्रवृत्ति बढेकोमा चिन्दा व्यक्त गरेका छन् । उनले पर्याप्त अध्ययन, अनुसन्धान र खोजी नेपाली मिडिया क्षेत्रमा हुन नसकेकाले सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सुझाव दिदैं अध्यक्ष बस्नेतले काउन्सिल यसतर्फ क्रियाशील बनेको समेत बताए ।
पत्रकारिता अध्ययन गर्दै गरेका विद्यार्थी संलग्न कार्यक्रमलाई आईतबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘प्रेस काउन्सिलले मिडियाको अध्ययन, प्रशिक्षण बढाउन विभिन्न योजना अघि बढाएको छ । सरकारले यसको लागि स्रोत/साधन जुटाइदिन कन्ज्युस्याईं गर्नुभएन । मिडियाको प्रवद्र्र्धनमा भएको लगानीले सिङ्गो प्रेस जगतलाई नै फाईदा हुन्छ ।’
प्रेस काउन्सिल नेपाल र ख्वप कलेज भक्तपुरका पत्रकारिता बिए दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीसँग पत्रकार आचारसंहितासम्बन्ध काउन्सिलमा भएको अन्तरक्रियामा अध्यक्ष बस्नेतले यस्तो धारणा राखेका हुन् ।
बस्नेतले आचारसंहिता, नक्कली र सक्कली पत्रकारबिचको भिन्नता, (कोड अफ कण्डक्ट र कोड अफ इथिक्स) बारे जानकारी दिएका थिए । उनले पत्रकारिता पढेकोमा खुसी व्यक्त गर्दै यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन सुझाए ।
उपप्रशासकीय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिलको काम, कर्तव्य, अधिकार, गठन प्रक्रिया, संरचना तथा पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराएका थिए ।
उनले दर्ता भएका अनलाईन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको सङ्ख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो कारबाहीका साथै स्वअनुगमनबारे जानकारी दिएका थिए । काउन्सिलले उजुरी र खण्डन मात्रै नभएर दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्म अभ्यास गर्ने गरेको उनले बताए ।
बोहराले काउन्सिलको मुख्य काम पत्रकारको नीति नियम बनाउने, पत्रकार आचारसंहिता जारी गर्ने, पत्रकारिताको विकासको निम्ति सरकारलाई आवश्यक सल्लाह दिने भएको बताए । शिक्षक कृष्ण केसीले पत्रकारलाई आचारसंहितामा रही कर्तव्य निर्वाह गराउन काउन्सिलले चालेका कदम र पत्रपत्रिका वर्गीकरणको आधारबारे जिज्ञासा राखे ।
शिक्षक तथा विद्यार्थीको जिज्ञासाबारे जानकारी दिदै बोहराले पत्रकारहरूले बारम्बार गल्ती गरेमा प्रेस पास निलम्बन गर्ने, कालोसूचीमा राख्ने, सरकारबाट पाउने सुविधा रोख्कनको लागि सम्बन्धित निकायमा पत्र पठाउने लगायतका कार्य हुने जानकारी दिए । उनले काउन्सिलको अधिकार क्षेत्रभित्र आधिकारिकरूपमा दर्ता भई सञ्चालनमा आएका मिडियाका सामग्री पर्ने तर, सामाजिक सञ्जाल नपर्ने भएता पनि पत्रकार तथा सञ्चार माध्यमको सामाजिक सञ्जालमा आउने सामग्री अनुगमन एवं नियमनका लागि प्रयास भइरहेको बताए ।
सो क्रममा काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले स्वअनुगमनका लागि प्रयोग भइरहेका प्रणालीबारे जानकारी दिए ।