नेपालगन्ज ८ चैत्र : सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले निर्वाचन आयोग र सरकारलाई यस्तो आचारसंहिता निर्माण गर्नुको आधार र कारण लिखित रुपमा पेस गर्न भनेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलमा उपस्थित हुन र उक्त छलफलपछि आचारसंहिता रोक्न अन्तरिम आदेश निरन्तर हुने वा नहुनेबारे निर्णय गर्ने भनेको छ ।