काँग्रेसकी नेतृ आरजु कैलालीबाटै निर्वाचन लड्ने


काँग्रेसकी नेतृ आरजु कैलालीबाटै निर्वाचन लड्ने

कैलाली १० चैत्र : नेपाली काँग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफू पुनः कैलाली–५ बाट निर्वाचन लड्ने संकेत गरेकी छन् ।

धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पहिले जहाँबाट उम्मेदवारी दिएको पुनः त्यहीँबाट उम्मेदवारी दिने बताइन् । ‘यहीँ लड्छु नि । पहिला पनि यहीँ लडेको हो’ उनले भनिन्, ‘म यहीँ कैलालीबाटै उठ्छु ।’

उनले अन्य स्थानबाट निर्वाचनमा लड्न सुझाव दिए पनि आफूले कैलाली नै रोजेको बताइन् । तर, त्यसको लागि पार्टीले टिकट दिनु पर्ने बताइन् । ‘सर्लाहीका साथीहरूले पनि आउनु भन्नु भएको छ । कोहलपुरमा पनि उठ्न आग्रह गरिरहनु भएको छ’ उनले भनिन्, ‘बर्दियाबाट पनि उठ्ने हल्ला छ । पार्टीले टिकट दियो भने कैलालीबाट निर्वाचन लड्छु । अहिले यही सक्रिय छु ।’

देउवा २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेकी थिइन् । उनलाई बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले पराजित गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पाँच दलीय गठबन्धन निर्वाचनमा पनि हुने उनले दाबी गरिन् । पार्टीको लाइन गठबन्धन भएर जाने भन्ने हो । हाम्रो पार्टीमा विमति राख्न पाइन्छ उनले भनिन्, ‘एक्ला एक्लै लड्न त्यति सजिलै पनि छैन । बीचका अरू पनि पार्टी छन् ।’ स्थानीय तहका निर्वाचन हुँदा गठबन्धन भए पनि निर्वाचन क्षेत्र अनुसार तालमेल हुन सक्ने उनको भनाइ छ । उनले तोकिएकै समयमा निर्वाचन हुने समेत बताएकी छन् ।

‘स्थानीय तहको निर्वाचन अनिवार्य छ । हामीले पनि आफ्नो तयारी गरिरहेका छौँ’ उनले भनिन्, ‘तोकिएकै समयमा निर्वाचन हुन्छ । निर्वाचन नहुने भन्ने हल्ला हो । निर्वाचन हुन्छ । यो संवैधानिक बाध्यता हो ।’ नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको उक्त पत्रकार भेटघाटमा अध्यक्ष देउवाले स्वागत मन्तब्य राखेका थिए ।