नेपालगन्ज ११ चैत्र : आगामी वैशाख ३० गतेको स्थानीय तहको चुनावलाई लक्षित गरेर काँग्रेसले शुरु गरेको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई बाँकेमा तीब्र पारिएको छ ।
अभियानलाई प्रभावकारी गराउन काँग्रेसले प्रदेश, जिल्ला, क्षेत्रबाट प्रतिनिधिहरु परिचालन गरेको छ । आजमात्रै कोहलपुर नगरपालिका–९ मा कार्यक्रम गरिएको वडा सभापति मनबहादुर रानाले जानकारी दिए ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसीले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै कार्यकर्ता एक ढिक्का भएर लाग्न निर्देशन दिए । उनले प्रतिपक्षले एमसीसीलगायतका बिषयमा भ्रम छर्ने काम गरेको भन्दै त्यसलाई चिर्न पनि सुझाव दिए ।
‘एमसीसीको गलत प्रचार गरेर मतदातालाई प्रभावित पार्न सक्छन् उनले भने–‘एमसीसी नितान्त विकास परियोजना हो, बुझेका नेताहरुले सबैलाई बुझाउन जरुरी छ ।’ काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेसलाई बलियो बनाउन भातृ संघसंगठनहरुको भूमिका महत्वपूर्ण हुने भएकाले क्रियाशील हुन निर्देशन दिए ।
उनले निर्वाचनमा आंकाक्षा हुनु स्वभाविक भएकाले उम्मेदवार टुंगो नलाग्दै आफ्नो लागि मत माग्नु भन्दा काँग्रेसको लागि माग्न निर्देशन दिए ।
‘केही नेताहरु म उम्मेदवार हुँ भन्दै भोट माग्दै हिडेको पाइएको छ उनले भने–‘आकांक्षा राख्न पाइन्छ भोली टिकट जस्ले पाउँछ उसैलाई सहयोग गर्नुपर्छ । अहिले काँग्रेसलाई जिताऔं ।’
यस्तै कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य फुलाराम थारुले चुनावमा प्रतिपक्षलाई कमजोर आट्न नमिल्ने भन्दै सबै एक भएमात्रै विजय हुन सकिने बताए । उनले भने–‘हामीले जितेको ठाउँ हो भनेर हाइसन्चो मानेर बस्ने अवस्था छैन् । सबै घरघरमा जाऔं भोट मागौं ।’
कार्यक्रममा जिल्ला सचिव संजु थारु, सदस्य बुद्धिराम थारु, महासमिति सदस्यहरु चिन्तामणी धिताल, द्रोपती ओली, पूर्ण आचार्य, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, काँग्रेस नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका–९ का वडाअध्यक्ष ठाकुर थारुलगायतको सहभागीता रहेको थियो ।