आईतबार अमिन ल्याएर नापी गर्ने
नेपालगन्ज १२ चैत्र : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ धम्बोझी निवासी चन्द्रकला उप्रेतीले अदालतको फैसला मान्न अटेरी गरेकी छन् । सर्वाजनिक जग्गाको विषयलाई लिएर सडक निर्माणका क्रममा भएको विवादका विषयमा उच्च अदालत तुलसीपुर नेपालगन्जले गरेको फैसला उप्रेतीले मान्न अटेरी गरेकी हुन् ।
अदालतले गरेको फैसलासंगै नेपालगन्ज वडा नम्बर– १ को कार्यालयले उक्त जग्गाभएर सडक निर्माणको थालनी गरेको थियो । केही दिन अघि सडक निर्माणको कार्य अघि बढाउँदा सडक क्षेत्रभित्र पर्ने संरचना वडाले हटाएपछि विवाद चुलिएको थियो ।
अदालतको फैसला वडा कार्यालयले कार्यान्वयन गराउन खोज्दा उप्रेतीले वडाअध्यक्ष लगायत छरछिमेकीलाई विभिन्न लाछना लगाउँदै गालीगलौच समेत गरेकी थिइन् । यतिमात्र होइन उप्रेतीले आरोप र तथानाम गालीगलौच गरेको भिडियो सामाजिक सञ्जालमा समेत पोष्ट गरेकी थिइन् ।
वडाअध्यक्ष र छरछिमेकीलाई गालीगलौच र आरोप लगाइएको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि स्थानीयहरु उप्रेती विरुद्ध अदालत जाने तयारी गरेकाछन् ।
विवाद बढ्दै गएपछि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर– १ निवासी चन्द्रकला उप्रेतीले स्थानीय सरकारबाट न्याय नपाएको गुनासो गर्दै उपमहानगरपालिकामा निबेदन दिएकी थिइन् ।
उनको निवेदन आएपछि नेपालगन्ज उप–महानगरपालिकामा शुक्रबार सर्वपक्षीय छलफल समेत गरियो ।
सोक्रममा पीडित भनिएकी उप्रेती, उपमेयर उमा थापामगर, वडा नम्बर–१ का वडाअध्यक्ष, स्थानीयबासी, पत्रकार, नगरपालिका तथा विभिन्न संघसंस्थाका प्रमुख एवम राजनीतिक दलको उपस्थितीमा सर्वपक्षीय छलफल गरिएको थियो ।
छलफलका क्रममा उप्रेतीले आफुलाई वर्षोंदेखि मानसिक यातना र धम्की आईरहेको गुनासो गरिन् । उप्रेतीले उच्च अदालत बाँकेमा दिएको निवेदनमा अन्तरिम आदेश जारी नभएपछि वडा कार्यालयले अन्य स्थानीय बासिन्दाको दबाबपछि अदालतको निर्णय कार्यान्वयन गर्दै सार्वजनिक जग्गामा बनाइएको अस्थायी संरचना हटाउन लगाएको पाइएको छ ।
उप्रेतीको भन्दा पुर्वतर्फको कित्ताको जग्गा एकिन नभएका कारण सार्वजनिक मान्दै अन्य स्थानीयले सडक बनाउनुपर्ने माग गरिरहेकाछन् भने उप्रेतीले आफ्नो जग्गा पर्ने दावी गर्दै आएकीछन् । सोही क्रममा उप्रेतीले एक नम्बर वडा कार्यालय र ७५ वर्षिय महिला समेतलाई विपक्षी बनाएर जिल्ला प्रहरी र अदालतमा मुद्दा दर्ता गरेको पाइएको छ ।
सार्वजनिक जग्गा विवाद चुलिएपछि नेपालगन्ज उपमहानगरपालिका, नापी कार्यालय र अदालतले उक्त जग्गा आधा दर्जन बढि पटक नापी गर्दा समेत उप्रेतीले असहमति जनाउँदै आएकी छन् ।
विवादित कित्ता नम्बर ११६ को जग्गा उप्रेतीको नभएको अदालतको फैसलाबाट प्रष्ट भएपनि उप्रेतीले विभिन्न बहानामा उक्त जग्गा अतिक्रमण गर्न खोज्दै अस्थायीरुपमा छेकबार लगाएकी थिइन् । बाटोको रुपमा प्रयोग हुँदै आएको कित्ता नम्बर ११६ को जग्गामा छेकबार लगाएपछि सो बाटो भएर स्थानीयबासी हिँडडुल गर्ने असमर्थ भएका थिए ।
छलफलमा सहभागी अन्य स्थानीयले उप्रेतीले आफुहरुलाई गाली गलौज र अन्य अपशब्द प्रयोग गर्ने गरेको भन्दै आलोचना गरे । सहमतिका लागि प्रयास गर्न खोज्दा सधैं उप्रेती भाग्ने गरेको उनीहरुको दावी छ ।
सो क्रममा अधिवक्ता लोकबहादुर शाहले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले गरेको फैसलालाई ब्याख्या गर्दै पीडित भनिएकी उप्रेतीले भोगचलन गर्दै आएको कित्ता नम्बर ११६ को जग्गा भोग चलनमा देखिएपनि हक नलाग्ने बताएका थिए ।
अदालतले गरेको फैसलालाई सहर्ष स्वीकार्न सर्वपक्षिय भेलाका उपस्थितले उप्रेतीलाई आग्रह समेत गरेका थिए । समस्या समाधानका लागि भएको प्रयासमा सहमति जुटाउन भन्दै पुनः नापी कार्यालयबाट एमिन ल्याएर सार्वजनिक पाइएको कित्ता नम्बर ११६ को जग्गा नाप्ने सहमति भएकोछ ।
सर्वपक्षिय सहमतिमा भोली आईतबार नेपालगन्ज उपमहानगरपालिका मार्फत नापी कार्यालयबाट एमिन माग गर्ने र नापी कार्यालयबाट खटिने एमिनबाटै कित्ता नम्बर ११६ को जग्गा नाप गरिनेछ ।
सर्वपक्षिय भेलामा वडाध्यक्ष प्रमोद रिजालले आफुहरुले एकल महिलालाई निरन्तर सम्मान गर्दै आएको भन्दै अनावश्यक विवाद निम्त्याउन खोजिएको र चरित्र हत्या गर्ने काम भएको बताए ।
उक्त जग्गामा देखिएको विवादका विषयमा पटक–पटक सहमति जुटाउने प्रयास गर्दा समेत शंकाको दृष्टिकोणले मलाई हेर्दा आज यो असजह परिस्थिती सिर्जना भएको वडा अध्यक्ष रिजालले बताए ।
‘उनले सार्वजनिक सम्पत्तिमाथि कुनै पनि ब्यक्तिले कब्जा गर्न पाउँदैन । यसमा वडा कार्यालय कटिबद्ध छ’ उनले भने –‘कित्ता नम्बर ११६ को जग्गा नापी पश्चात अतिक्रमण गरेको पाइए सबैको संरचना भत्काइनेछ ।’
यस्तै उक्त सर्वपक्षिय बैठकमा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले कानूनप्रति सबैको सम्मान हुनुपर्ने भन्दै कुनैपनि पक्षले विवाद बढाउने खालका गतविधि गर्न नहुनेमा जोड दिइन ।
उनले विवादको विषय रहेको कित्ता नम्बर ११६ लाई छुट्टाएर सहमतिका साथ अघि बढ्नुपर्ने सुझाव दिइन् ।
सार्वजनिक कित्ता नम्बर ११६ जग्गा करिब डेढ देखि ढाई कठ्ठा भएको अनुमान गरिएको छ । उक्त जग्गा आसपासका जग्गाधनीले समेत अतिक्रमण गरेको वडा अध्यक्ष रिजालले बताए ।
सो बैठकमा नगर प्रहरी निरीक्षक सुर्यवहादुर बोगटी, नेपागन्ज उपमहानगरपालिकाकी कानून अधिकृत माया शर्मा, अमिन नमराज अधिकारी लगायतले सहजिकरण गरेका थिए ।