बाँके(नरैनापुर) २० चैत्र : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले नरैनापुरमा यसपाली काँग्रेसले जित्नैपर्ने बताएका छन् ।
नेपाली काँग्रेस नरैनापुर गाउँपालिकाको आयोजनामा भएको बृहत आमसभालाई सम्बोधन गर्दै गिरीले नरैनापुरमा काँग्रेसलाई जिताउन सबै नेता कार्यकर्तालाई दत्तचित्त भएर चुनावी अभियानमा खटिन निर्देशन दिए ।
‘नरैनापुर काँग्रेसको उर्वरभूमी हो, तपाईंहरु एकजुट भएर लाग्नुस्, जो–जो उम्मेदवार बन्नुहुन्छ, उहाँहरुलाई जिताउन तपाईंहरु सबै मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्छ, गत निर्वाचनमा ब्यहोरेको पराजयलाई अब जीतमा बदल्न लाग्नुस्, ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि बाँकेमा खटिएका केन्द्रिय प्रतिनिधि समेत रहेका गिरीले भने ।
उनले स्थानीय आवश्यकता हेरेर उपयुक्त मोडालिटीमा गठबन्धन गर्न सकिने केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम नै अघि बढ्न आग्रह गरे ।
आफू सिंचाई मन्त्री हुँदा नरैनापुरमा सिंचाई सुविधा पुर्याउनका लागि पूर्वी नहर निर्माणको काम गरेको जिकिर गरे ।
केन्द्रिय सदस्य गिरीले नरैनापुर किसानको भूमी भएको चर्चा गर्दै यो क्षेत्रको चाँडै विकास हुुनुपर्ने भएपनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्दै काँग्रेसले नै नरैनापुरको विकासका लागि पहल गर्दै आएको बताए ।
उनले भने, ‘नरैनापुरको धेरै पहिले विकास हुनुपर्ने हो, जुनरुपले विकास हुनुपर्ने हो, त्यो भएको छैन, तपाईंहरुलाई विकासमा ठगिएको जस्तो महसुस हुनु स्वभाविक हो तर, अहिले विकासको गतिविधि देखिन थालेको छ, हुलाकी सडक, विजुली लगायतको काम काँग्रेसले नै गरेको हो, तपाईंहरु नझुक्किनुहोला ।’
अर्का केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नरैनापुरमा यसपाली काँग्रेसले विजय हासिल गर्ने ठोकुवा गरे । काँग्रेसले जिते नरैनापुरको द्रुत गतिमा विकास हुने भन्दै उनले काँग्रेसलाई जिताउन नरैनापुरबासीसंग आग्रह गरे ।
काँग्रेस नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँको सभापतित्वमा सम्पन्न सभामा काँग्रेस लुम्बनी प्रदेश सभापति अमरसिंह पुन, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, क्षेत्र नम्बर– १ का सभापति पोषणराज केसी, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, काँग्रेस लुम्बिनी प्रदेश सदस्यद्वय अञ्जना पाण्डे र इशाक जोलाहा, महासमिति सदस्य पूर्णप्रसाद आचार्य, महाधिवेशन प्रतिनिधी पवन यादव, नेता रामचन्द्र मौर्य लगायतले सम्बोधन गरेका थिए ।
सो क्रममा विभिन्न पार्टी परित्याग गरेर करिव ३ सय जना ब्यक्ती काँग्रेसमा प्रवेश गरेको नरैनापुर गाउँपालिका सभापति खाँले जानकारी दिए ।