निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरुको प्रतिवद्धता


निवार्चनलाई स्वतन्त्र निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरुको प्रतिवद्धता

नेपालगन्ज २४ चैत्रः निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन बाँकेका सरोकारवालाले प्रतिबद्धता जनाएकाछन् । आसन्न निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित बनाउन आयोजित जिल्लास्तरीय कार्यक्रममा सहभागि सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सर्बदलीय बैठकहरू भइरहेको बताउँदै राजनीतिक दलहरूसँग पनि आचार संहिताका विषयमा छलफल भइरहेको बताए ।

खत्रीले सबै राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताको पालना गरे विवाद, द्वन्द्व नहुने विश्वास ब्यक्त गरे ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले कानूनले सबैलाई सम्मानरुपले हेर्ने भएकोले निर्वाचन आचारसंहिता विपरित कुनै पनि राजनीतिक दलका कार्यकर्ताहरू गए कानूनी दायरामा ल्याउने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

एसपी अधिकारीले निर्वाचनमा अपराधिक क्रियाकलाप गर्नेहरूलाई कुनै पनि राजनीतिक दलहरूले संरक्षण गर्न नहुने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङकर बहादुर रावलले स्थानीय निर्वाचनलाई भय रहित बनाउन सबै पार्टीका कार्यकताहरू जिम्मेवार हुनुपर्ने बताए ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन राजनीतिक दलहरूको दायित्व, कर्तव्य र प्रतिवद्धता लिनको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै निर्वाचन आचारसंहिताको अक्षरस पालना गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुने कुरामा जोड दिए ।

नेकपा एमालेका केन्द्रिय सदस्य दीपा शर्माले निर्वाचनलाई भयरहित बनाउन नेकपा एमाले प्रतिबद्ध रहेको बताउँदै राजनीतिक दलका कार्यकताहरूले निर्वाचनलाई स्वतन्त्र आखाँले हेर्नु पर्ने धारणा राखिन् ।

यस्तै नेकपा एकिकृत समाजवादी पार्टीका केन्दिय सदस्य आशोक कोइरालाले चुनावमा हुने आर्थिक चलखेललाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले निर्वाचनलाई द्वन्द्व गराउने पक्षलाई कानूनी दायरामा ल्याउन सके निर्वाचन भय रहित हुने बताए ।

कोइरालाले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ल्याउन सबै राजनीतिक दलहरू एकबद्ध हुनुपर्ने धारणा राखे ।

नेपाली काँग्रेसका बाँके जिल्ला सचिव सुधांसु कोइरालाले निर्वाचन प्रकृया स्वतन्त्र र विश्वसनिय हुनुपर्ने बताउँदै निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याउन र निर्वाचनलाई भयरहित बनाउन नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताए ।

उक्त कार्यक्रममा अधिवक्ता विश्वजीत तिवारी, नेकपा एमालेका रत्न खत्री, काँग्रेसकी नारायणी रुपाखेती, डाक्टर सुरेश कनोडिया, राप्रपाका नरेन्द्र पौडेल, जसपाका हिक्मत विक, नेकपा माओबादी केन्द्रका डिल्ली बराल, राप्रपाकी इन्दिरा शाही, एमालेकी शान्ति ढकाल, विजया धिताल, रेखा गुप्ता, पत्रकारद्वय अछरी पोखरेल र विमला चौधरी लगायतले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको बारेमा सचेत हुनुका साथै त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सबै एकबद्ध हुनुपर्ने धारणा राखेका थिए ।

डिसिएको सहयोगमा इन्सेक नेपालगन्ज, राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्ज, र एफडब्लुएलडीको आयोजनामा ‘स्थानीय तहको निवार्चनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूको प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको थियो ।