सिख समुदायले ‘खालसा साजना दिवस’ भब्य रुपले मनाउँदै


सिख समुदायले ‘खालसा साजना दिवस’ भब्य रुपले मनाउँदै

नेपालगन्ज २५ चैत्र : सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा बैशाखी पर्वलाई नेपालगन्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ ।

नेपालगन्जको सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई भव्य रुपमा मनाइने जानकारी गराईएको हो ।

कोरोना भाईरसको महामारीका कारण तीन वर्षसम्म मनाउन नपाएको दिवस आगामी बैशाख १, २ र ३ गते भव्य रुपमा मनाईन लागेको गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले जानकारी दिए ।

गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाउने तयारी भैरहेको सरदारले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

खालसा साजना दिवस तथा बैशाखी पर्व आयोजक संस्था गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएका प्रतिनिधि दलजित सिंह सरदारले खाल्साको अर्थ बारे प्रष्ट पारेका थिए ।

सिख समुदायको धर्म उत्पती भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको जानकारी दिँदै उनले भने –‘खाल्साले सबै शिखहरुलाई पाँच निसानी दिएको छ त्यो हामीले जन्मेदेखि लगाउँदै आएका छौं ।’ हातमा लगाएको कडा, टाउकोमा पगरी भित्र कंगी, कम्मरमा सानो चक्कु, एउटा भित्री बस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको उनले प्रष्ट पारे । यो निसानी सिख समुदायका सबैले लगाउने गरेको उनले बताए ।

सो अवसरमा गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका सचिव अमरजित सिंह सरदार, कोषाध्यक्ष जोगिन्दर सिंह सरदार, कानूनी सल्लाहकार तथा प्रवक्ता सुरेन्द्रसिंह सरदार एवं सदस्यहरु चरनजित सिंह सरदार र हरप्रित सिंह सरदारले पनि खालसा साजना दिवस र बैशाखी पर्वको ईतिहास र महत्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम अनुसार बैशाख १ गतेदेखि ३ गते विहानसम्म गुरुद्धारामा अखण्ड पाठको आयोजना गरिने छ । सो अवधी भर ‘लंगर’ र भण्डाराको समेत व्यवस्थापन गरिनेछ । बैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकसिहितको शोभा यात्राले नगर परिक्रमा गर्नेछ ।

सो यात्रामा भारतबाट आएका युवाले लठ्ठी, तलवारसहितको मार्शल आर्ट(गतका) देखाउने श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले जानकारी दिए । नेपालमै सबैभन्दा धेरै संख्यामा शिख समुदाय बाँकेमा बसोबास गर्दछन् ।