नेपालगन्ज २५ चैत्र : नेपाल पत्रकार महासंघ बाँकेले खोज पत्रकारिता तालिम शुरु गरेको छ । बाँकेमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका भण्डारीले पत्रकारिताको तालिमको अभावका कारण नयाँ पत्रकार उत्पादन गर्न नसकिएकाले नेपालगन्जम दक्ष पत्रकारको अभाव रहेको बताए । सोही अनुरुप महासंघले पत्रकारिता तालिमलाई निरन्तरता दिएको बताए ।
‘महासंघ बाँकेका पत्रकारको क्षमता अभिवृद्धिमा अग्रसर छ,’ अध्यक्ष भण्डारीले भने–‘पत्रकारको साझा संस्था महासंघले सैद्धान्तिक पक्षमा मात्र नभएर पत्रकारका क्षमता अभिबृद्धिमा पनि सचेतछ, अग्रसरछ ।’
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले घटनाको वास्तविकता नियालेरमात्र समाचार सम्प्रेशण गर्नु पर्नेमा जोड दिए । उनले पत्रकारले लेखेका समाचारले समाजमा प्रत्येक्ष असर पर्ने भएकाले वास्तविकताको उठान गर्नु पत्रकारको कर्तव्य रहेको बताए ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाईले ब्यवसायीक पत्रकारिताका गरिरहेका पत्रकारको क्षमता र सीपमा निखार ल्याउन महासंघले आयोजना गरेको यसखाले कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले स्थानीय सरकारका सवलाका विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा खोज पत्रकारिता तालिमले सहयोग गर्ने हुँदा महासंघबाटै थालनि गरिएको तालिमको सफलताको शुभकामना दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मोफसलमा यस्ता तालिम नहुने बताउँदै महासंघले आयोजना गरेको खोज पत्रकारिता तालिम महत्वपूर्ण रहेको बताए ।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले आजको पत्रकारिता गतिविधिमा मात्र केन्द्रित रहेको तालिमले पत्रकारमा खोज पत्रकारिता गर्न सहयोग पुग्ने धारणा राखे ।
त्यस्तै प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले खोज पत्रकारिता तालिम सबैले सिक्न जरुरी रहेको बताए । उनले वर्तमान परिवेशमा खोज पत्रकारिताको महत्व धेरै रहेको बताए ।
महासंघले आयोजना गरेको कार्यक्रम चैत्र २९ गतेसम्म सञ्चालन रहने छ । कार्यक्रममा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ अनलाईनका सम्पादक खोज पत्रकार रामेश्वर बोहराले सहजिकरण गरिरहेकाछन् ।