सातौं नेपाली राष्ट्रिय झण्डा महोत्सव

‘नेपालमा कहिल्यै नसुनेको दिवस मनाइन्छ तर, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिदैन’


‘नेपालमा कहिल्यै नसुनेको दिवस मनाइन्छ तर, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिदैन’

नेपालगन्ज १ बैशाख : नयाँ वर्षको पहिलो दिन बिहीबार नेपालगन्ज रङ्गशालामा सातौं नेपाली राष्ट्रिय झण्डा महोत्सव धुमधामका साथ मनाइएकोछ । प्रत्येक वर्ष बैशाख १ गतेलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिन र राष्ट्रिय झण्डाको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत ७ वर्षदेखि झण्डा महोत्सव गरिदैँ आएको हो ।

‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो, सबैलाई सहभागिताका लागि आह्वान गर्छाैं’ ।

नेपाली राष्ट्रिय झण्डाको बनोट बिशिष्ट प्रकारको छ । संसारका सयौं झण्डाहरुको बिचमा पनि हाम्रो झण्डा अलग्गै चिनिन्छ । यस झण्डाको ईतिहास निकै पुरानो छ ।

२५ सय वर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यस भन्दा धेरै अघिदेखि यो झण्डा प्रचलनमा छ । बजारमा किन्न पाईने झण्डाको रंग र त्यसमा प्रयोग गरिएको चन्द्र र सूर्य फरक–फरक देखिन्छ । यस्तो नहोस् भन्ने सन्देश दिनु पनि महोत्सवको उद्देश्य हो । सोही उद्देश्यलाई आत्मसाथ गर्दै हरेक वर्ष झण्डा दिवस मनाइदै आएको शाहले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार शाहले सरकारले नै यसको जिम्मेवारी लिई राष्ट्रिय झण्डा दिवस मनाउनुपर्ने बताए ।

‘हरेक दिन राष्ट्रिय, अन्तराष्ट्रिय दिवस मनाईन्छ तर, देशलाई बिश्व मानचित्रमा चिनाउने, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिने कुनै दिन छैन’–परिकल्पनाकार शाहले भने–‘जसका कारण झण्डाको रंग समेत गलत प्रयोग गर्ने परिपाटी बढेर गएको छ । यस्तो समस्या हुन नदिन, झण्डाको महत्व बढाउन दिवस मनाउने सो“च आफुमा आएका हो ।’

राष्ट्र, राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाँध्ने गरेको उल्लेख गर्दै शाहले झण्डाको महत्वलाई बुझि झण्डाको मर्यादा कायम राख्न सबैलाई आग्रह गरे ।

सो क्रममा विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न क्षेत्रका ब्यक्तिले मन्तब्य दिएका थिए । बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, समाजसेवी हेमन्तराज काफ्ले लगायतले शुभकामना मन्तब्य दिए ।

यस्तै वरिष्ठ कलाकार श्यामानन्द सिंहले आफ्नो कला प्रस्तुत गरेका थिए । महोत्सवमा सहभागी हुन बाँकेका विभिन्न स्थानबाट सर्बसाधारण उपस्थित भएका थिए । रंगशाला परिसरमा झण्डा महोत्सवले रौनकता छाएको थियो ।
बिगत ७ वर्ष देखि नेपालगन्जमा भईरहेको महोत्सवको तेस्रो वर्षमा प्रवेश भएसंगै मुलुकका अन्य स्थानहरुमा पनि मनाउन थालिएको छ ।

अन्तरालको आयोजना र बास नेपालको संयोजनमा यस वर्ष नेपालगन्ज रंगशालामा झण्डा दिवस मनाइदैछ । नेपालगजमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गतेदेखि झण्डा दिवस मनाउन शुरु गरेको हो ।

झण्डा दिवसको पहिलो वर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगन्ज रंगशालामा सम्पन्न भएको थियो । भने दोश्रो वर्ष २०७४ बैशाख १ गते चन्द्र सूर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगन्जको रामलिला मैदानमा सम्पन्न भएको थियो ।

तेस्रो वर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगन्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । सोही वर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने नेपालगन्ज, पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो ।

चौथो वर्ष अन्तरालले नेपालगन्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगन्जको बीपि चोकमा मनाएको थियो । पाँचौं र छैठौं वर्ष नेपालगन्जको रामलिला मैदानमा झण्डा दिवस मनाईएको थियो ।