स्थानीय तह निर्वाचन

टिकट लिन काँग्रेसभित्र दौडधुप : नेपालगन्जको मेयरमा १४ जना र उपमेयरमा ११ जना आकांक्षी


टिकट लिन काँग्रेसभित्र दौडधुप : नेपालगन्जको मेयरमा १४ जना र उपमेयरमा ११ जना आकांक्षी

नेपालगन्ज १ बैशाख : स्थानीय तहको निर्वाचन हुन अब २८ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिदैँ गर्दा आगामी नेतृत्वमा आफ्नो उम्मेदवारी दर्ज गर्न यतिबेला नेपाली काँग्रेसभित्र निकै ठूलो रस्साकस्सी चलेकोछ ।

नेपालगन्ज उपमहानगर हाँक्ने मेयर र उपमेयरको टिकट लिन नेपाली काँग्रेसभित्र दौडधुप चलेको छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरका लागि काँग्रेसका १४ जना र उपमेयरका लागि ११ जना उम्मेदवार बन्न आकांक्षा देखाएका छन् ।

टिकट आफ्नो पक्षमा ल्याउन काँग्रेसका नेता तथा नेतृहरुबीच दौडधुप चलेको हो । उनीहरुले जिल्ला, प्रदेश र केन्द्र सम्मका नेतालाई भेट्ने गरेका छन् । नेपालगन्ज काँग्रेसका लागि महत्वपूर्ण उपमहानगरपालिका हो । काँग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृहनगर पनि हो, नेपालगन्ज ।

त्यसकारण नेपालगन्जलाई काँग्रेसले महत्वका साथ हेर्ने गरेको छ । उपमहानगरको टिकटका लागि नेता तथा नेतृहरुबीच दौडधुप चलेपनि अहिलेसम्म टुंगो भने लागेको छैन । पाँच दलिय गठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा जिल्लामा अहिलेसम्म टुंगो लागेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

सत्तारुढ दल समेत रहेको नेपाली काँग्रेसले चुनावी तालमेल गर्ने भन्दै त्यसको गृहकार्यमा समेत ब्यस्त भइरहँदा पश्चिम नेपालको बाँकेको नेपालगन्जमा नेतृत्व लिन निकै ठूलो होडबाजी र कडा प्रतिस्प्रधा चलेको हो ।

नेपालगन्जको मेयर र उपमेयर पद गठबन्धन भित्रको कुन दलले पाउँछ भन्नेबारे टुंगो नलागेपनि काँग्रेसका नेता तथा नेतृहरु काँग्रेसले नै पाउने आशाका साथ टिकटका लागि दौडधुप थालेका हुन् । काँग्रेस नेपालगन्ज उपमहानगर कार्यसमितिले गत चैत २७ गते मेयर पदका लागि १४ जना र उपमेयर पदका आकांक्षी ११ जनाको नाम सिफारिस गरेर पठाएको थियो ।

उपमहानगरको मेयर पदमा रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापामगर सुनील राणा, निरञ्जनसिंह सिजापति, डाक्टर सुरेशकुमार कनोडिया, माया पुन, अजितकुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, बिरेन्द्रबहादुर शाह, अच्युतप्रसाद प्रसाई, ललितकुमार रौनियार, मोहम्मद कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।

यस्तै उपमेयरका लागि रेणुसिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिवकुमार बर्मा, पूरनसिंह ठकुरी, मिनाकुमारी बोहरा, नारायणी रुपाखेती, मोहम्मद कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुलकुमार गुप्ता नगर समितिबाट सिफारिसमा परेका छन् ।

मेयर र उपमेयर पदका लागि धेरै आकांक्षी देखिदाँ उम्मेदवार छान्न काँग्रेसलाई सकस परिरहेको स्रोतले जनाएको छ । ‘नेपालगन्जको मेयर र उपमेयर पदको टिकटका लागि धेरै जना आकांक्षी हुनुहुन्छ, तर कस्लाई टिकट दिने भन्नेमा पार्टीले कुनै निर्णय गरेको छैन,’ काँग्रेस बाँकेका एक नेताले भने ।

नगर समितिले सिफारिस गरेका आकांक्षीको नामलाई क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–२, जिल्ला कार्यसमिति बाँके, काँग्रेस लुम्बिनी प्रदेश र पार्टी केन्द्रीय कार्यसमितिलाई बोधार्थका रुपमा जानकारी गराइसकेको छ ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट डाक्टर सुरेशकुमार कनोडिया उम्मेदवार थिए । उनी राप्रपाका महामन्त्री समेत रहेका डाक्टर धवलशमशेर राणासंग पराजित भएका थिए । यसपटकको निर्वाचनमा मेयर समेत रहेका राणाले मैदान छाडिसकेका छन् । उनले नेपालगन्जको मेयरमा नलड्ने र केन्द्रिय राजनीतिमा जाने घोषणा गर्दै सोही अनुरुप अघि बढेकाछन् ।