स्थानीय अवस्था र आवश्यकता अनुसार काँग्रेसले चुनावी तालमेल गर्ने
नेपालगन्ज ४ बैशाख : नेपाली काँग्रेस बाँकेले चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई दिएकोछ । काँग्रेस बाँकेले स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई दिने निर्णय गरेको हो ।
नेपाली काँग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनमोर्चा बीचमा जिल्लास्तरमा सहमती हुन नसकेपछि तल्लो कमिटिलाई अधिकार दिइएको हो । सरकारमा समाले जनता समाजबादी पार्टी (जसपा) शुरुवाती बैठकबाटै गठबन्धन नगर्ने गरि अघि बढेकोछ ।
काँग्रेसले माओबादीलाई खजुरा गाँउपालिका दिन तयार छ । तर, माओबादीले खजुराका साथै नेपालगन्ज, कोहपलुर र राप्तीसोनारी मध्ये एक पालिकामा प्रमुख मागेपछि कुरा नमिलेको हो । काँग्रेसले यी पालिकामा माओबादीलाई उपाध्यक्ष दिन तयार छ ।
केन्द्रिय सर्कुलर अनुसार २०७४ सालमा जितेको पालिका पार्टीलाई दिने र अन्य पार्टीले जितेको ठाउँमा मतभारका आधारमा निकटतमलाई दिने थियो । यस अनुसार बाँकेमा सत्ता गठबन्धन दलबीच कुरा मिल्न सकेन ।
काँग्रेसले आफूले जितेको राप्तीसोनारीमा समेत माओबादीलाई अपाध्यक्ष दिने लचक भएपनि कोहलपुर नगरपालिकामा माओबादीले जोड गरेको थियो ।
काँग्रेस बाँकेको पदाधिकारीको शनिबार बसेको बैठकले आफ्ना मातहतका निकायलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय लिन निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।
नेपाली काँग्रेस केन्द्रको परिपत्र र सत्ता गठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय गठबन्धन दलको बैठक निरन्तर बसेको थियो ।
सभापति नारायण प्रसाद गौडेलले गत चैत्र २० गतेदेखि बैशाख २ गतेसम्म निरन्तर बसेको सत्ता गठबन्धनको बैठकमा तालमेलबारे बृहतरुपमा छलफल गरेर गठबन्धनभित्रका पार्टीहरु स्थानीय अवस्था र आवश्यकताका आधारमा आपसी तालमेल गरेर निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने सर्वसम्मत निर्णय गरेको बताए ।
सोही निर्णय अनुसार पार्टीको पदाधिकारी बैठकले मातहतका निकायलाई निर्देशन दिएको प्रबक्ता गिरीले बताए । ‘पार्टीको पदाधिकारी बैठकको निर्णय अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिहरुलाई मातहतमा रहेका निकायहरुलाई यथाशक्य छिटो जानकारी गराई सोही निर्णय अनुसार कार्य गर्न निर्देशन दिइएको छ’, प्रबक्ता गिरीले भने ।
अब योसंगै बाँकेमा सत्ता गठबन्धबीच चुनावी तालमेल लगभग नहुने भएकोछ । गठबन्धन भए जिल्लाका थुप्रै पालिका र वडामा काँग्रेस ब्याक हुनु पर्ने अवस्था सिर्जना भएपछि आवश्यकता र अवस्था हेरेर चुनावी तालमेल हुनेछ ।