नेपालगन्ज ४ वैशाख : कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष पहिलेझैं सञ्चालन हुने भएको छ । यसपालिको एसईई यही वैशाख ९ गते सामान्य अवस्थामा जस्तै गरी शुरु गर्न लागिएको हो ।
बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डले जनाएको छ ।
परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
यस वर्ष नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए ।
ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । शैक्षिक शत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
‘गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन’, रायमाझीले भने, ‘प्राविधिक धारमा कक्षा सञ्चालन गरिरहेका मुलुकभरका २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थीले पनि एसईई दिँदै छन् ।’
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।
बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।
‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन÷शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जानकारी बोर्डले दिएको छ ।
विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्न÷गराउन निर्देशन दिएको छ ।