नेपालगन्ज ४ बैशाख : स्थानीय तह निर्वाचनको मिति नजिकिदैं गर्दा नेकपा एमालेले बाँकेका पाँच पालिकामा उम्मेदवारको अन्तिम नाम अघि सारेकोछ ।
नेकपा एमालेले बाँकेका ८ पालिका मध्ये पाँच पालिकाको उम्मेदवार टुंग्याएको हो । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।
एमालेका केन्द्रिय सदस्य तथा बाँके ईन्चाज सूर्य ढकालका अनुसार नेपालगन्ज उपमाहनगरपालिका, खजुरा, नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लगाएको हो ।
उनका अनुसार अब कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाको उम्मेदवार टुंगो लगाइनेछ ।
नेकपा एमाले बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्र, खजुरा गाउँपालिकानमा सुमन मल्ल, नरैनापुर गाउँपालिकामा पदमावती यादव, डुडुवा गाउँपालिकामा सरोजकुमारी यादव र जानकी गाउँपालिकामा हिमांशु यादवलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार टुंगो लगाउन बाँकी रहेको कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाहरुमा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ । उनीहरुलाई बैशाख ६ गतेसम्म मिलेर नआए प्रदेश कमिटिमा सबैको नाम पठाउने तयारी गरिएकोछ ।
२०७४ सालको चुनावमा एमाले बाँकेका आठ पालिकामध्ये चार पालिका जितेको थियो । यस्तै नेपालगन्ज उपमहानगरपालिकाको २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ । अरुमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
यस्तै नेकपा एमालेले कोहलपुर नगरपालिकाको १५ वडामध्ये १२ वटा वडामा वडा अध्यक्षका लागि सर्वसम्मत रुपमा उम्मेदवार छानेको छ । स्थानीय तह निर्वाचनको लागि वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारहरु छानेको हो ।
वडा कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरी माथिल्लो कमिटीमा सिफारिस गरिसकेको छ । वडाध्यक्षको लागि वडा नम्बर– १ मा रुद्र खनाल, वडा नम्बर– ३ मा माधव रिजाल, वडा नम्बर– ४ मा सफि मोहम्मद गुजर, वडा नम्बर– ५ मा दीपेन्द्र श्रेष्ठ र वडा नम्बर–६ बाट परदेशी थारु सर्वसम्मत रुपमा छनोट भएका हुन् ।
त्यसैगरी वडा नम्बर–७ मा ठग्गा थारु, वडा नम्बर– ९ मा नन्दराम थारु, वडा नम्बर–१० मा हेमकुमार रावत, वडा नम्बर– १२ मा टेकबहादुर शाही, वडा नम्बर– १३ मा रुपसिंह डाँगी, वडा नम्बर– १४ मा ज्ञानेन्द्र थापा र वडा नम्बर–१५ मा मोहन थारु वडाध्यक्षको उम्मेदवारको लागि छनोट भएका छन् ।
यस्तै वडा नम्बर– २, ८ र ११ मा अध्यक्षका आकांक्षीहरु धेरै भएकोले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न ढिलाई भएको जनाइएको छ ।
यसैबीच, नेकपा एकीकृत समाजवादी (एस) ले नेपालगन्ज उपमहानगरपालिकामा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।
नगर अध्यक्ष सरोज तमाङको अध्यक्षतामा बसेको बैठकले मेयरमा नेकपा (एस) का जिल्ला उपाध्यक्ष तथा नेपालगन्जका पूर्व उपमेयर समसुद्दिन सिद्दिकी र उपमेयरमा युवा संघ सचिवालय सदस्य तथा नेकपा (एस) बाँकेकी प्रचार विभाग प्रमुख करिश्मा योगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
त्यस्तै नेपालगन्जको वडा नम्बर–१ मा कृष्णबहादुर चन्द, वडा नम्बर– ४ मा उत्तर ओली, वडा नम्बर–५ मा सब्बिर अली खान, वडा नम्बर–६ मा शिव भारती, वडा नम्बर–७ मा शेर पठान, वडा नम्बर– ११ मा युव्हार खाँ, वडा नम्बर– १९ मा बद्री यादव र वडा नम्बर–२० मा नन्दु कुमार बर्मालाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको तमाङले जनाकारी दिए ।