नेतृत्व विहीन डिएलए बाँके

ज्ञवाली दोहोरिने अडानमा, अधिकांस कानून ब्यवसायी नेतृत्व परिर्वतनको पक्षमा


ज्ञवाली दोहोरिने अडानमा, अधिकांस कानून ब्यवसायी नेतृत्व परिर्वतनको पक्षमा

नेपालगन्ज ४ बैशाख : गत चैत २६ गते लोकतन्त्रवादी कानून ब्यवसायीको संगठन डेमेक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाँकेले चुनावी आफ्नो अधिवेशन सम्पन्न गरेको थियो ।

विगत तीन वर्षदेखी डिएलए बाँकेको नेतृत्व गर्दै आएका अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली सोही दिनदेखी निर्वतमान बन्न पुगे । ‘अधिवेशनले निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्व चयन प्रक्रिया अगाडी बढाउनुपर्ने थियो, तर नेतृत्व चयनको आन्तरिक प्रतिस्पर्धालाई जवरजस्ती अवरोध गर्ने काम भयो, फलस्वरुप डिएलए बाँके नेतृत्व विहिन बन्न पुगेको हो,’ एक कानून ब्यवसायीले भने ।

सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गर्न वरिष्ठ अधिवक्ता भोलासिंह हमालको संयोजकत्वमा एक समिति बनाइएको छ । उक्त समितिको सदस्यमा अधिवक्ता प्रह्लाद कार्की, प्रमोदबहादुर श्रेष्ठ, गोपीचन्द्र वर्णवाल र लोकबहादुर शाह सदस्य छन् । तर, उक्त समितिले अहिलेसम्म सहमती जुटाउन सकेको छैन ।

अरुलाई विधि÷विधान र नियम÷कानून सिकाउने लोकतन्त्रवादी कानून ब्यवसायीको संगठन डिएलए बाँके अहिले नेतृत्व विहिन बनेको हो । जसले गर्दा लोकतन्त्रवादी कानून ब्यवसायीमा निराशा छाएको छ । लोकतान्त्रिक ढंगले संगठनको नयाँ नेतृत्व चयन प्रक्रिया नचल्दा कानून ब्यवसायीहरु चिन्तित बनेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

आगामी नयाँ कार्यकालका लागि डिएलए बाँकेको अध्यक्षमा सुनिलकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष ईश्वरीप्रसाद ज्ञवाली, शिव श्रेष्ठ, बलबहादुर चन्द, उदयराज बर्मा र जनकबहादुर शाहीले आकांक्षा राखेका छन् । श्रेष्ठ नेपाल बार एसोशियसनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा तत्कालिन पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् ।

यस्तै डिएलए बाँकेका निर्वतमान अध्यक्ष रहेका ज्ञवाली पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । यसैगरी शिवकुमार उच्च अदालत बार नेपालगन्जका वर्तमान अध्यक्ष तथा चन्द उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । त्यस्तै बर्मा जिल्ला बार बाँकेका पुर्वअध्यक्ष र शाही जिल्ला बार बाँकेका वर्तमान अध्यक्ष हुन् ।

स्रोतका अनुसार डिएलए बाँकेको उपाध्यक्षमा कर्णबहादुर केसी आकांक्षी देखिएका छन् । यस्तै सचिवमा प्रभाकर भट्टराईसहित पूनम श्रेष्ठ, गोपाल गिरी, राकेशकुमार सोनी र युगबहादुर गुरुङले आकांक्षा राखेका छन् । यसैगरी कोषाध्यक्षमा मोहम्मद अयुव सिद्धिकी, सतिशचन्द्र थारु, मोहम्मद रिजवान अहमद मिर्जा र यशोदा कुमारी उपाध्याय तथा सदस्यमा विश्वजीत तिवारी, केवल सिंह थारु, राघव कार्की, श्रीकृष्ण थारु, देबीमाया खत्री, मिरा ददेल लगायतको दाबी रहेको छ ।

अध्यक्ष पदका आकांक्षीहरु बीच अहिलेसम्म सहमती जुट्न सकेको छैन । डिएलए बाँकेका अधिकांस सदस्य नेतृत्व परिर्वतनको पक्षमा उभिएका छन् । उनीहरुले कुनैपनि हालतमा नेतृत्व परिवर्तन हुनुपर्ने, एउटै ब्यक्ति बारम्बार दोहोरिन नहुने अडान राख्दै आएका छन् । अध्यक्ष पदका अधिकांस आकांक्षीहरु सुनिल कुमार श्रेष्ठलाई अध्यक्षमा छाड्न तयार देखिएका छन् । तर निर्वतमान अध्यक्ष ज्ञवालीलाई दोहोरिन नदिने अडानमा छन् ।

‘एक कार्यकाल चलाईसकेपछि निर्वतमान अध्यक्षले स्वतः नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो, तर उहाँ फेरी पनि संगठन चलाउन आउन खोज्नुको कारण बुझ्न सकिएको छैन, कानुन ब्यवसायीको संगठनमा यस्तो हुनु दुःखद कुरा हो,’ अर्का कानून ब्यवसायीले भने ।

नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म निर्वाचन कार्यक्रम प्रकाशित नै गरिएको छैन । यसले गर्दा प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) गणेशकुमार रेग्मी आफै अन्यौलमा परेका छन् । अहिलेसम्म उनले निर्वाचन प्रक्रिया अगाडी बढाउन सकेका छैनन् ।

‘चुनाव भएपनि/नभएपनि निर्वाचन कार्यक्रम अगाडी बढाउनुपर्ने हो, तर हुन सकेको छैन,’ उनले भने ‘अब छिट्टै निर्वाचन तालिका प्रकाशित गर्छौ ।’ रेग्मीले सम्भवतः सोमबारसम्म निर्वाचन कार्यक्रम प्रकाशित गरिने बताए ।