जनभावना अनुरुप वडाअध्यक्षमा फेरि लड्छु : रिजाल
नेपालगन्ज ५ बैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले सरकारी सामाग्री त्यागेकाछन् । आसन्न स्थानीय तह निर्वाचन आउनै लाग्दा वडाअध्यक्षको रुपमा आफूले प्रयोग गर्दै आएको ल्यापटप एक थान र मोटरसाईकल एक थान वडा कार्यालयमा बुझाएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष रिजालले सोमबार आफूले प्रयोग गर्ने ल्यापटप र मोटरसाईकल वडा कार्यालयमा बुझाएको सेतोखरीलाई जानकारी दिए ।
‘वडाअध्यक्ष भएर काम गर्दै जाँदा वडाको कामकारबाहीका लागि प्रयोग गरिरहेको ल्यापटप र मोटरसाईकल वडामै फिर्ता गरेकको हुँ’ सेतोखरीसंग कुरा गर्दै उनले भने–‘आसन्न निर्वाचनलाई मध्यनजर गर्दै वडाबाट अध्यक्षकोरुपमा प्रयोग गरेको सरकारी सामाग्री फिर्ता गरेको हुँ ।’ निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गरि सरकारी सामग्री बुझाउने रिजाल बाँकेमा पहिलो जनप्रतिनिधि हुन् ।
संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव संगालेका कारण पुनः नेपालगन्ज वडा नम्बर–१ को वडाअध्यक्षमा लड्ने रिजालले बताए ।
वडाअध्यक्षको रुपमा काम गर्दै गर्दा विकासमा समृद्ध वडा बनाउने सपना अझैं पुरा हुन सकेन, बस्तीबस्ती र टोलटोलबाट आमजनताले समेत फेरि वडाअध्यक्षमा आउन सुझाव दिएकाले जनभावना अनुरुप पुनः वडाअध्यक्षमा लड्ने तयारी गरेको उनले बताए ।
म वडाअध्यक्ष भएर वडाको स्रोत साधनको भरपुर उपभोग गर्दै थुप्रै काम गरेकोछु, परिर्वतन र विकासको अनुभूति वडाबासीले गर्नुभएकोछ । मेरो आफ्नो चाहाना पनि छ, जनताको पनि यही माग छ’ रिजालले भने–‘पार्टीले समेत वडाअध्यक्षमा मलाई पहल गरेको हुनाले पुनः वडाअध्यक्षमा लड्दैछु, त्यसको तयारीमा छु ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष भइसकेपछि रिजालले वडाको हरेकजसो टोलमा नालीसहितको कालोपत्रे सडक, ग्राभेल, पीसीसी, कोरोनाकालमा जनताको घरदैलोमा पुगेर सेवा प्रदान, एन्फा ग्रासरुट स्पोर्टस एकेडेमी, ब्याडमिन्टन कोर्ट, नेपालगन्जकै पर्यटकीय क्षेत्र वाटरपार्कको सौन्दर्यकरण, बाल उद्यान, वडा सौन्दर्यकरणका लागि सडकमा फूल, मठमन्दिर जीर्णोदार, खेलाडी उत्पादन र पुराना खेलाडीलाई सम्मान लगायतका कामहरु गरेको वडाअध्यक्ष रिजालले सुनाए ।