नेपालगन्ज मेयरमा ‘विरासत जोगाउन’ राप्रपाबाट ४ जना आकांक्षि


नेपालगन्ज मेयरमा ‘विरासत जोगाउन’ राप्रपाबाट ४ जना आकांक्षि

नेपालगन्ज ५ बैशाख : स्थानीय तह निर्वाचन नजिकिएसंगै राजनीतिक दलले आफ्ना भावि उम्मेदवारको छिनोफानो गरिरहेकाछन् । वडादेखि पालिकासम्मको उम्मेदवार को बन्ने ? कसलाई दिने भनेर दलभित्र ठूलै रस्साकस्सी चलिरहेकोछ ।

संघीयतापछिको दोस्रो निर्वाचन भएका कारण यसअघि निर्वाचित भएका अधिकांशले पुनः दोहो¥याउन जोडबल गरिरहेकाछन् । भने पहिले अवसर दिएकाले यसपटक आफ्नो पालो आएको भन्दै उम्मेदवारी दावि गरिरहेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका महामन्त्री समेत रहेका डाक्टर धवल शम्सेर राणाले आफु नेपालगन्जको मेयरमा अब नलड्ने घोषणा गरिसकेपछि राप्रपाभित्र टिकटका लागि रस्साकस्सी चलेको हो । महामन्त्री राणा आउँदो प्रतिनिधी सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।

निर्वाचनमा यसपटक राप्रपालाई नेपालगन्जमा आफ्नो विरासत जोगाउने चुनौती छ । अघिल्लो निर्वाचनमा राणाले पार्टी बाहेक अन्य मतदाताबाट पनि लोकप्रिय मत प्राप्त गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

राणाले प्राप्त गरेको लोकप्रियतालाई जनतामाझ पुर्याएर आफ्नै पार्टीका उम्मेदवारलाई फेरीपनि जिताउने राप्रपाको दाउ छ । चुनावमा कसैसँग तालमेल नगरी एक्लै चुनाव लडेर जित्नुपर्ने राप्रपाभित्र बहस चलिरहेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदसहित तीन वटा वडा जितेको थियो ।

नेपालगन्जको वडा नम्बर– ५ का वडाअध्यक्ष कैफुलबरा जोलाहा र वडा नम्बर– ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्ता ‘बैश्य’ हालै कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरिसकेका छन् । भने वडा नम्बर– ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना भने राप्रपामै छन् ।

पार्टीभित्र मेयरका लागि आकांक्षि बढेपछि कसलाई अघि सार्ने भन्ने विषयमा राप्रपाभित्र समेत थप उल्झन पैदा भएकोछ । राप्रपाका महामन्त्री डाक्टर राणाले पार्टीभित्र मेयर र उपमेयर लड्ने आकांक्षी धेरै रहेको बताए । ‘आकांक्षी धेरै जना छन्, तर कसैको पनि टुंगो लागेको छैन,’ उनले भने ।

राप्रपाले अन्य पार्टीसँग चुनावी तालमेल गर्ने सम्भावना के छ ? भन्ने प्रश्नमा राणाले त्यसबारेमा पनि छलफल चलिरहेको बताए । तर, कुन पार्टीसँग छलफल चलेको छ ? भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन् ।

यसअघि गत चैत्र महिनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज आएका बेला राप्रपाका महामन्त्री राणाबीच वान टू वान भेटवार्ता भएको थियो । सो भेटमा आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने विषय केन्द्रित थियो ।

नेपालगन्जमा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटले देशभरको राजनीतिमा तरङ्ग ल्याएको थियो । नेपालगन्जमा राप्रपाको संगठन त्यती बलियो छैन । लोकप्रिय नेता डाक्टर राणाकै कारण राप्रपाले नेपालगन्जमा आफ्नो उपस्थिती कायम गर्न सकेको हो ।

यद्यपी यसपटकको निर्वाचनमा मेयर राणाले मैदान छोडेपछि राप्रपाभित्र आकांक्षि बढ्नु स्वभाविक भएको एक नेताले बताए । उनले भने –‘मेयर सापले चुनाव लड्दैन भनेर उद्घोष गरिसकेपछि अन्य पार्टीलाई सहज भएको हो, राप्रपाभित्र पनि मेयरमा उम्मेदवारी दिने नेता बढेका हुन् ।’

राप्रपाबाट नेपालगन्जको मेयर पदका लागि ओमप्रकाश आजाद, गौरव चन्द, मोहम्मद सफिक बेहेना र तेजविक्रम शाह आकांक्षी देखिएका छन् ।

नेता आजाद २०७४ सालमा प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट ‘काँग्रेस÷राप्रपा गठबन्धन’ बाट सांसदको चुनाव लडेपनि पराजित भएका थिए । यस्तै चन्द राप्रपाका प्रभावशाली नेता हुन् ।

बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ को वर्तमान वडाअध्यक्ष हुन्, भने शाह राप्रपाभित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् ।

यसैगरी उपमेयरमा राप्रपा नेतृ बिन्दु चर्तीमगर, कृष्णा पाण्डे र पिंकी शाह (बेहेना) आकांक्षी छन् ।

यता वडा नम्बर– ४ का वडाअध्यक्ष समेत रहेका मेयर पदका आकांक्षी बेहनाले पार्टीभित्र आकांक्षी बढ्नु स्वभाविक भएपनि पार्टीले जस्लाई टिकट दिन्छ, उसैलाई जिताउन राप्रपाका सबै कार्यकर्ता लाग्ने बताए ।

‘मैले वडाअध्यक्ष भएर जनताको सेवा गर्ने महत्वपूर्ण अवसर पाएँ, त्यो अनुभवलाई अब मैले समग्र उपमहानगरको विकासमा प्रयोग गर्नेछु, राप्रपा पार्टी र आम नेपालगन्जबासीबाट यही अपेक्षा गरेको छु,’ बेहनाले भने ।