मूल्य बृद्धि भएपछि सम्पूर्ण काम स्थगित गर्ने बाँकेका निर्माण ब्यवसायीको चेतावनी


मूल्य बृद्धि भएपछि सम्पूर्ण काम स्थगित गर्ने बाँकेका निर्माण ब्यवसायीको चेतावनी

नेपालगन्ज ५ बैशाख : बाँकेका निर्माण ब्यवसायीले सम्पूर्ण काम स्थगित गर्ने चेतावनी दिएकाछन् । पछिल्लो समय अप्रत्याशित मूल्य बृद्धि भएपछि बाँकेका निमार्ण ब्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

मूल्य बृद्धिले समग्र निमार्ण क्षेत्रमा असर पुगेको भन्दै बाँके निमार्ण ब्यवसायीले सोमबार पत्रकार सम्मेलन गरि यस्तो चेतावनी दिए । भने उनीहरुले नयाँ जिल्ला दररेट कायम गर्न माग गरेका छन् ।

मूल्य बृद्धिले गरेको असरलाई सम्बोधन गर्न सरकार गम्भीर नभएको बाँके निर्माण ब्यवसायी संघका अध्यक्ष टेकबहादुर खड्काले आफ्ना माग पुरा नहुँदासम्म संघमा आबद्ध निर्माण ब्यवसायीले सम्पूर्ण काम स्थगित गरी ‘निर्माण होलिडे’ गर्ने निर्णयमा पुगेको बताए ।

हरेक आर्थिक वर्षको सुरुवातमा जिल्ला दररेट निर्माण गरिन्छ । चालु वर्षको दररेटभन्दा अहिले ईट्टा, फलाम र तेलमा १८ देखी ३० प्रतिशतसम्म मुल्य बृद्धि भएको खड्काले बताए । सरकारले जिल्ला दररेट समायोजन गर्नुपर्ने अन्यथा तत्कालका लागि निर्माण कार्यको समयावधि थप गरिदिनुपर्ने ब्यवसायीको माग छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘सरकारले मुल्यबृद्धिलाई सम्बोधन गरिदिनुपर्यो अथवा बिना हर्जना निर्माण कार्यको म्याद थप गरिदिनु पर्यो,’ खड्काले पत्रकार सम्मेलनमा भने । जिल्ला दररेट समायोजन नहुँदासम्म काम गर्न नसक्ने उनले प्रष्ट्याए ।

‘राज्यसँग लिएको पैसा सम्बन्धित पाटीलाई दिन सकिएको छैन, हामीलाई उद्योगहरुले पहिले पैसा जम्मा गरेपछि मात्र सामाग्री दिने गरेका छन्, कच्चा पदार्थ पनि पाइराखेका छैनौं, यस्तो अवस्थामा कसरी काम गर्नु ?’ उनले गुनासो पोखे ।

जिल्ला तहमा क्रियाशिल साना ब्यवसायीहरु मुल्य बृद्धि वापतको रकम प्राप्त गर्न नसक्ने र अत्यधिक मूल्य बृद्धिका कारण निर्माण कार्यलाई सुचारु गर्न नसकिने अवस्थामा पुगेको अध्यक्ष खड्काले जोड दिए । आर्थिक मन्दीका कारण सरकारी निर्माण कार्य गरे वापत भुक्तानी समेत पाउन नसकेको निर्माण ब्यवसायीको गुनासो छ ।

कोरोना महामारीको समयमा समेत निर्माण क्षेत्रले यस्तो विकराल समस्या खेप्न नपरेको निर्माण ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चन्दले बताए ।

‘हाम्रो समस्या समाधान गरिदिन सरकारलाई आग्रह गर्दै आएका छौं, समय समयमा ज्ञापन पत्र बुझाउने काम पनि गरिरहेका छौं, कतैबाट सुनुवाई नभएपछि पत्रकार सम्मेलन गरेर आफ्ना समस्या सुनाउन बाध्य भएका हौं,’ उनले भने ।

मूल्य बृद्धिको मारमा परेका धेरै निर्माण ब्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगिसकेको वरिष्ठ उपाध्यक्ष चन्दले सुनाए । संघका अनुसार जिल्लामा हाल करिव ७ अर्ब बराबरका ५ सय भन्दा बढी ठुला र साना योजना चलिरहेका छन् । अप्रत्याशित मुल्य बृद्धिले ति सबै योजना प्रभावित हुन पुगेको ब्यवसायी बताउँछन् ।

पत्रकार सम्मेलनमा संघका महासचिव भुपाल ओलीले प्रेस विज्ञप्ती वाचन गरेका थिए । पत्रकार सम्मेलनमा संघमा आवद्ध विभिन्न निर्माण ब्यवसायी उपस्थित भएका थिए ।