निर्वाचन सार्न खोजिए सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय


निर्वाचन सार्न खोजिए सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

नेपालगन्ज ५ बैशाख : नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रिय सचिवालय बैठकले चुनाव रोक्ने षड्यन्त्रमा सरकार रहेको भन्दै कार्यकर्तालाई आन्दोलनका लागि लागि तयार रहन निर्देशन दिने निर्णय गरेको हो ।

‘सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको भन्ने आभास हामीलाई भएको छ,’ नेता पृथ्वी सुब्बा गुरुङले भने, ‘त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्र निस्तेज पार्छौं ।’

यस्तै, बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट जारी गरिने प्रतिबद्धतापत्रको मस्यौदा पारित गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसलाई अब अन्तिम रुप दिएर ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा घोषणापत्र सार्वजनिक गरिनेछ । एमालेले इश्वर पोखरेल नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको थियो ।

बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय गरेको उनले बताए । यस्तै बैठकले पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि गरेको छ ।

बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।