दुल्लुका अन्तिम राजा जङ्गबहादुरका छोरा पूर्व जर्नेल दीप्तप्रकाशको निधन


दुल्लुका अन्तिम राजा जङ्गबहादुरका छोरा पूर्व जर्नेल दीप्तप्रकाशको निधन

नेपालगन्ज ६ बैशाख : नेपाली सेनाका पूर्व जर्नेल दीप्तप्रकाश शाहको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली सेनाले शाहलाई सलामी दिएर अन्तिम बिदाइ गरेको छ । उनी दुल्लुका अन्तिम राजा जङ्गबहादुर शाहका साहिँला छोरा हुन् ।

शाहको ८६ वर्षको उमेरमा हृदयाघातबाट सोमबार साँझ काठमाडौंको हिमाल अस्पतालमा निधन भएको थियो । सोमबार साँझ ७ः३० बजे उनलाई एक्कासि श्वास प्रश्वासमा समस्या आएपछि उनका छोरा सत्यम शाहले हिमाल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए ।

‘बुवाको स्वास्थ्य अवस्था सामान्य थियो’, छोरा सत्यमले भने, ‘बेलुका ६ बजे मैले बुबालाई कस्तो छ भनी सोधेको थिए । उहाँले ठिक छ भन्नुभयो । साँझ ६ः३० बजे कामले बाहिर निस्केको थिए । एक छिनपछि आमाले फोन गरेर घरमा बोलाउनुभयो । बुवालाई श्वास फेर्न गाह्रो भएपछि तत्काल अस्पताल लगे ।’

कुनै दीर्घ रोग नभएका शाहको हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालको आकस्मिक कक्षसम्म शाह हिँडेर नै गएका थिए । ‘बुबालाई कुनै रोगले च्यापेको थिएन । डाक्टरहरूले धेरै प्रयास गरे तर बेलुका ९ बजे तिर बुवा बित्नुभयो । हिमालमा राख्ने ठाउँ नभएकाले सोमबार बेलुकै छाउनी स्थित नेपाली सेनाको अस्पतालमा लगियो ।’

Kanti Aarogya Hospital Nepalgunj

नेपाली सेनाको उपरथीबाट अवकाशप्राप्त दीप्त प्रकाश शाह तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा राष्ट्रियसभाको सांसदमा मनोनीत भएका थिए । तर, राजाबाटै मनोनीत रमेशनाथ पाण्डेको बारेमा गरेको टिप्पणीपछि दरबारको दबाबमा उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका बेला दीप्तप्रकाश शाह सर्वाधिक चर्चित र प्रभावशाली व्यक्ति थिए ।

बेलायतमा कानून विषयको अध्ययनपछि नेपालमा फर्किएर उनी तत्कालीन शाही नेपाली सेनामा भर्ती भएका थिए । शाह दुल्लुका अन्तिम राजा जङ्गबहादुर शाहका छोरा भएकाले यदि राजा प्रथाको अन्त्य भएको थिएन भने उनी दुल्लुका राजा बन्ने लाइनमा थिए ।

सेनामा जागिर खाएकै बेला नेपाली काँग्रेसबाट चुनाव लड्न शाह दुल्लु गएका थिए । तर, अन्तिममा गिरिजाप्रसाद कोइरालाबाट धोका भएपछि उनी स्वतन्त्र उम्मेदवारबाट चुनावमा उठेका थिए । तर, चुनावमा उनी विजयी हुन सकेनन् ।

शाहका एक छोरा, दुई छोरी र श्रीमती छन् । दाहसंस्कारअघि शाहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गैरीधारास्थित निवासमा राखिएको थियो ।