बाँकेका ८ पालिकाका ९१४९ विद्यार्थी परीक्षा दिदैं

एसईईका लागि तोकियो ३३ वटा केन्द्र, सबैभन्दा बढि कोहलपुरमा, ८ वटा प्राविधिक धारका विद्यालयबाट ३१२ जना सहभागि हुने


बाँकेका ८ पालिकाका ९१४९ विद्यार्थी परीक्षा दिदैं

नेपालगन्ज ८ बैशाख : पछिल्लो दुई वर्षदेखि नियमितरुपमा हुन नसकेको एसईई परीक्षा यस वर्ष हुँदैछ । कोरोना भाइरस संक्रमणका कारण नियमित दुई वर्षसम्म हुन नसकेको एसईई परीक्षा यसपटक हुन लागेको हो ।
कोरोना भाइरस संक्रमण र यसले सिर्जना गरेको असहज परिस्थिती सामान्य बनेपछि यसपटक यसअघि जस्तै एसईई परीक्षा सञ्चालन हुन लागेको छ ।

कोरोना कहरबाट तङ्ग्रिदै गरेको अवस्थामा आसन्न स्थानीय तहको निर्वाचनको गर्मागर्मीकाबीच हुन लागेको एसईई परीक्षाले विद्यार्थीमा परीक्षाप्रति दवाब सिर्जना गरेकोछ । लगातार दुई वर्षसम्म अवरुद्ध एसईई र नियमित अध्ययन हुन नपाएपछि यसपटक परीक्षा दिने विद्यार्थीमा अन्यौलता मात्र छैन समयमै कोर्ष पुरा नभएका कारण पनि परीक्षा कस्तो हुने हो भन्ने चिन्ता उनीहरुमा छ ।

शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय बाँकेले यस वर्षको एसईईका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएकोछ । यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गर्दै शिक्षा विकास तथा समन्वय इकाईले जिल्लामा तोकिएका परीक्षा केन्द्रमा उत्तर पुस्तिका र नजिकको प्रहरी युनिटमा प्रश्नपत्र पठाइसकेको बताएकोछ ।

समन्वय ईकाई प्रमुख रामसुरेश यादवका अनुसार यसपटकको एसईईमा बाँकेका ४ हजार ६ सय २० छात्र र ४ हजार ५ सय २९ जना छात्रा गरि कुल ९ हजार एक सय ४९ जना विद्यार्थी परीक्षामा सहभागि हुदैँछन् । जसमा एक सय ५२ जना पुरक विद्यार्थी रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसपटकको एसईई परीक्षा बैशाख ९ गते(भोली) बाट सुरु हुँदैछ । बाँकेका आठ वटा पालिका कुल ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । ३३ वटा परीक्षा केन्द्रका लागि केन्द्राअध्यक्ष समेत तोकि उनीहरुलाई सभ्य, भब्य तथा ब्यवस्थित रुपमा एसईई परीक्षा सञ्चालन गर्न अभिमुखिकरण प्रदान गरिएको ईकाइ प्रमुख यादवले सेतोखरीलाई जानकारी दिए ।

ईकाई प्रमुख यादवका अनुसार बाँकेका ८ पालिका मध्ये सबैभन्दा बढि कोहलपुर नगरपालिकामा परीक्षा केन्द्र तोकिएको छ भने जानकी, डुडुवा र नरैनापुरमा एक/एक वटा परीक्षा केन्द्र राखिएकोछ । जानकी गाउँपालिकाको जानकी मावि खजुराखुर्द, डुडुवा गाउँपालिकाको सहदि मावि कम्दी र नरैनापुरको जयकिसान मावि भोजभगवानपुरलाई परीक्षा केन्द्र तोकिएकोछ ।

यस्तै राप्तीसोनारी गाउँपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएकोछ । जसमा सिद्धेश्वर उमावि, भुवरभुवानी मावि, शिवशक्ति मावि र गणेशमाविलाई परीक्षा केन्द्र तोकिएकोछ ।

यसैगरी बैजनाथ गाउँपालिकाको सूर्योदय मावि चिसापानी, दीपज्योती मावि चिसापानी, भगवती मावि हस्नापुर र प्रभात मावि जि गाउँलाई परीक्षा केन्द्र तोकिएकोछ ।

समन्वय ईकाई प्रमुख यादवका अनुसार सबैभन्दा बढि कोहलपुर नगरपालिकामा परीक्षा केन्द्र तोकिएकोछ । यहाँ कुल ९ वटा परीक्षा केन्द्र तोकिएकोछ । जसमध्ये त्रिभुवन उमावि कोहलपुर, बालज्योती बोर्डिङ स्कुल एनटिभीरोड, बागेश्वरी एकेडेमी चटार, नमुना विद्यासदन पिपरी, ज्ञानज्योती मावि चप्परगौडी, वेष्र्टन मावि कोहलपुर र राम मावि कोहलपुर रहेकाछन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा कुल ८ वटा परीक्षा केन्द्र तोकिएको छ । जसमा महेन्द्र नमुना उमावि रानी तलाउ, धम्बोझी उमावि धम्बोझी, एमपी उमावि डिएसपीरोड, सरस्वती उमावि टाँगास्टेसन, युद्ध सस्कृतमावि चारबाहीनी, एविसी रेजिडेन्टिल उमावि गणेशपुर र होप इन्टरनेशनल मावि रहेकोछ ।

यस्तै खजुरा गाउँपालिकामा ४ वटा परीक्षा केन्द्र तोकिएकोछ । जसमा जनता मावि सन्तकुटी, ज्ञानोदय उमावि खजुरा, आदर्श उमावि डि गाउँ र अम्मर मावित गौतमबस्ती रहेकाछन् ।

यसरी जिल्लाका ८ पालिकामा तोकिएको ३३ वटा परीक्षा केन्द्रमा ७ वटा संस्थागत विद्यालय र २६ वटा सामुदायिक विद्यालय रहेकाछन् ।

८ वटा प्राविधिक धार विद्यालयबाट ३१२ जना विद्यार्थी सहभागि हुँदै

शिक्षा विकास तथा समन्वय इकाईकार्यालय नेपालगन्जका प्रमुख यादवका अनुसार यसपटकको एसईई परीक्षाका लागि जिल्लाका ८ वटा प्राविधिक धार अध्यापन हुने विद्यालयबाट ३ सय १२ जना विद्यार्थी सहभागि हुदैँछन् । जसमा २ जना ग्रेड बृद्धिका लागि परीक्षामा सहभागि हुँदैछन् ।

बाँकेमा प्राविधिक धारमा अध्यापन हुने विद्यालयहरुमा खजुरा गाउँपालिकामा रहेको ज्ञानोदय उमावि र जनता मावि संतकुटी, कोहलपुर नगरपालिकामा रहेको लक्ष्मी मावि बर्दहवा, नेपालगन्ज उपमहानगरपालिकामा रहेको धम्बोझी उमावि धम्बोझी र जयजनता मावि थपुवा, राप्तीसोनारी गाउँपालिकामा रहेको लक्ष्मी मावि मदुई, डुडुवा गाउँपालिकामा रहेको ज्ञानदीप मावि डलैपुर र नरैनापुर गाउँपालिकाको जयकिसान मावि भोजभगवानपुर विद्यालय रहेकाछन् ।

३३ परीक्षा केन्द्र मध्ये ४ परीक्षाकेन्द्रको प्रमुख महिला

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख यदावका अनुसार यस वर्षको एसईई परीक्षाका लागि जिल्लामा तोकिएका ३३ परीक्षा केन्द्र मध्ये ४ वटा परीक्षाकेन्द्रको जिम्मेवारी महिला शिक्षकको हातमा परेकोछ ।
महिला केन्द्राध्यक्ष रहेको परीक्षा केन्द्रमा कोहलपर नगरपालिकामा एक, बैजनाथ गाउँपालिकामा एक र नेपालगन्ज उपमहानगरपालिकामा दुई परीक्षा केन्द्र रहेकोछ ।

कोहलपुर नगरपालिकाको त्रिभुवन उमाविकी प्रध्यानाध्यापक देवका बस्नेत, बैजनाथ गाउँपालिकाको दिपज्योती उमाविकी प्रध्यानाध्यापक बसुन्धरा पाण्डे र नेपालगन्ज उपमहानगरपालिकाको होप इन्टरनेसनल माविकी प्रध्यानाध्यापक केशवा गौतम तथा एविसी रेजिडेन्टियल उमावि गणेसपुरकी प्रध्यानाध्यापक शसी स्वाँर रहेकी छन् ।

एविसी रेजिडेन्टियल उमावि गणेसपुरकी प्रध्यानाध्यापक एवम केन्द्रअध्यक्ष शसी स्वाँरले सेतोखरीसंग कुरा गर्दै भनिन्–‘विगतका वर्ष झैं यस वर्ष पनि केन्द्राध्यक्षको जिम्मेवारी पाएकी छु । शान्त, मर्यादित र व्यवस्थितरुपमा परीक्षा सम्पन्न गर्न म र मेरो टिम तयारी अवस्थामा छ ।’

केन्द्राअध्यक्ष स्वाँरले अगाडी थपिन्–‘विगत दुई वर्षदेखि कोरोनाका कारण स्वत मुल्यांकनका आधारमा एसईई पास गरिएकाले पनि अधिकांश विद्यार्थीले यसपटक परीक्षा हुने नहुने दोधारकै विच तयारी नपुगेको छ । उनीहरुमा कन्फुजन भएकाले अलि नर्भस भएको देखिन्छ ।’

निष्पक्ष र मर्यादित परीक्षा बनाउन अनुगमन गरिने

शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख यादवका अनुसार एसईई परीक्षा शान्त, मर्यादित, अनुसाशित र व्यवस्थितरुपमा सम्पन्न गर्न सर्वपक्षिय छलफल र सहकार्य गरिएको बताए ।

उनले भने बाँकेका प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशागत संघसस्थाहरुसंगको सहकार्यमा नियमित अनुगमन गरिनेछ । यसका अलावा स्थानीय तहका प्रमुख, वडाअध्यक्ष, शिक्षा शाखाहरुले सम्बिन्धित पालिकाको परीक्षा केन्द्रको निगरानी, अनुगमन गर्ने ब्यवस्था मिलाएकाछौं ।