नेकपा (माओवादी केन्द्र)का नेता नन्दलाल बैश्यलाई राप्रपामा प्रवेश गराउँदै राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणा लगायत ।
नेपालगन्ज ८ बैशाखः नेकपा (माओवादी केन्द्र)का नेता नन्दलाल बैश्य राप्रपामा प्रवेश गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष समेत रहेका उनी माओबादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदको आकांक्षी थिए । बैश्य नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीका सह–सचिव समेत थिए ।
पाँच दलिय गठबन्धनबाट नेपालगन्जमा नेपाली काँग्रेसलाई प्रमुख र जनता समाजवादी पार्टी (जसपा) लाई उप–प्रमुख पद भागबण्डा परेपछि बैश्यले राप्रपा रोजेका हुन् । राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणाले उनलाई बिहीबार पार्टी प्रवेश गराए ।
सो क्रममा राप्रपाका पुर्वमन्त्रीद्वय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटा, नेता ओमप्रकाश आजाद लगायत उपस्थित थिए । बैश्यले शुक्रबार आफ्ना निकट ठुलो संख्याका ब्यक्तिलाई पनि राप्रपामा प्रवेश गराउने भएका छन् ।
पार्टी प्रवेश गरिसकेपछि वैश्यले हिजो राजनीतिक बाटो बिराएर अन्यत्रै गएपनि अब सही बाटोमा आएको बताए । उनले भने, ‘हिजो जसरी इमान्दारीता र कर्तव्यनिष्ट भएर राजनीति गरे, अब पनि कही कतै नडगमगाइ राजनीति गर्नेछु ।’ अबको मुलुक परिवर्तनका लागि राप्रपा नै एक शक्ति भएको उनको दाबी छ ।