नेपालगन्ज ९ बैशाखः बाँकेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको मनोनयन दर्ताका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई समय दिएको छ ।
बाँकेमा ८ वटै स्थानीय तहमा एकैसाथ मनोनयन दर्ता गर्नका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई यही बैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्ने समय दिएको हो ।
जिल्लाका ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । ‘नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले बैशाख १२ गते दिउँसो १ बजेको समय दिएको छ, जिल्लाका ८ वटै स्थानीय तहमा एउटै समयमा मनोनयन दर्ता गराइनेछ,’ काँग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्माले भने ।
सोही दिन पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यले मनोनयन दर्ता गराउनेछन् । यद्यपी काँग्रेस बाँकेले ८ वटै पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यका आकांक्षि उम्मेदवारहरुको आन्तिम नामावली तयारीमा जुटेकोछ ।