नेपालगन्ज १० वैशाख : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट बाहिरिएको छ ।
माओवादी केन्द्र नेपालगन्ज नगर समितिले शनिबार पत्रकार सम्मेलन आयोजना गरी गठबन्धनमा अपमानित भएको भन्दै नगर प्रमुख र उप–प्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धामा जाने घोषणा गरेको हो ।
माओवादी केन्द्र नेपालगन्ज नगर समितिका अध्यक्ष रतन शाहीले केन्द्रीय गठबन्धनको निर्णय अनुसार मेयर वा उपमेयर मध्ये एउटा पाउनुपर्नेमा नपाए पनि वडा तहसम्म जाँदा समेत एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा जाने भनेपछि नेपालगन्जमा गठबन्धनको औचित्य सकिएको बताए ।
अध्यक्ष शाहीले केन्द्रिय गठबन्धनको मूल मर्म विपरीत नेपालगन्जमा गठबन्धनका मेयर र उपमेयर पाएका दलहरुले वडामा आफ्नै तरिकाले जाने भनेपछि गठबन्धनको औचित्य सकिएको बताए ।
केन्द्रिय गठबन्धनअनुसार नेपालगन्ज उपमहानगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ ।
मेयर र उपमेयरमा भाग नपाएको माओवादी केन्द्रले वडामा आफ्नो दाबी बलियो बनाए पनि काँग्रेस र जसपाले वडामा आफ्नै तरिकाले जाने भनेपछि माओवादी बिच्किएको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पाएको मत परिणाम र गठबन्धनको हिसाबले माओवादी दोस्रो हिसाबमा भए पनि नगर प्रमुख नेपाली काँग्रेस र उप–प्रमुख जसपाको भागमा परेको थियो ।
वडातहमा समेत काँग्रेस र जसपा आ–आफ्नै तरिकाले चुनावी प्रतिस्पर्धामा जान खोजेपछि नगर प्रमुख, उप–प्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रले घोषणा गरेको जनाएको छ ।