नेपालगन्ज ११ वैशाख : नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली काँग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् ।
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । काँग्रेस महामन्त्री गगन थापाको नेतृत्वको समूहले काँग्रेसको घोषणापत्र लेखेको हो ।
उक्त घोषणा पत्रमा नेपाली काँग्रेसले जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि आईतबार सार्वजनिक गरेको घोषणापत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ ।
सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने काँग्रेसको संकल्प छ । कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने पनि काँग्रेसले बताएको छ ।
नेकपा एमालेले समृद्ध नेपालको राजनीतक भाष्य र कोरा विकासको मोडल बनाएको भन्दै काँग्रेसले भनेको छ, ‘समृद्ध नेपालको त्यो अवधारणामा व्यापक भौतिक विकास, ठूलाठूला पूर्वाधारका संरचना, अग्ला भवन, भ्यूटावर, भीमकाय एयरपोर्ट र हिमालमा रेल चढाउने लगायतका सपनाको व्यापार गरिएको छ ।’
यस्तो समृद्धिको आधारले देशले धान्नै नसक्ने अत्यन्त खर्चिलो भौतिक विकास भएको काँग्रेसले निष्कर्ष छ । ‘त्यस्तो विकासले जनताको शीरमा ऋणको भारी बोकाउँछ, प्राकृतिक स्रोतहरुको अवैज्ञानिक दोहन गरेर भावी पुस्तालाई समते जोखिममा पार्ने गरी पर्यावरणीय संकट निम्त्याउँछ ।’ निश्चित ठाउँमा जनसंख्याको केन्द्रिकरण गर्दै लैजाने, शहर र ग्रामिण, धनी र गरिब बीचको असमानताको खाडल अझ फराकिलो बनाउने काँग्रेसले बताएको छ ।
आफूले अघि सारेको समुन्नत नेपालको मार्गचित्र यो भन्दा भिन्न रहेको भन्दै कांग्रेसले भनेको छ, ‘समुन्नत नेपाल कुनै अमूर्त गन्तव्य नभएर जनताको सक्रिय सहभागितामा हुने राष्ट्र निर्माणको निरन्तर प्रक्रिया र अभियान हो ।’
समुन्नत नेपाल नागरिकलाई सबल, सक्षम र स्वतन्त्र बनाई देशलाई सम्पन्न बनाउने अवधारण भएको भन्दै काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सेवा प्रवाह, कृषि, उद्या र रोजगारी तथा स्थानीय पूर्वाधारमा अबको १० वर्षमा गर्ने कामको योजना अघि सारेको छ ।
काँग्रेसे नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने बताएको छ । निर्दिष्ट योजना र विनियोजित स्रोत सीमा बाहिर गई अपारदर्शी वा अनुत्तरदायी रुपमा हचुवाको भरमा कुनै पनि निर्णय नगर्ने, कानून, आर्थिक तथा वित्तीय उत्तरदायित्व तथा अनुशासन उल्लंघन गनेृ, महिला हिंसा, जातीय विभेदलाई प्रत्साहन नगर्ने पनि काँग्रेसको संकल्प छ ।
यस्तै उक्त घोषणा पत्रमा नेपाली काँग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ ।
‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी घोषणापत्रमा उल्लेख छ ।