नेपालगन्ज १२ वैशाख : स्थानीय तहको निर्वाचनमा यौनिक तथा अल्पसंख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम, मधेसी महिलाको सहज र अर्थपूर्ण सहभागिताका लागि उचित वातावरण सिर्जना गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संवाद समूह, बाँकेद्वारा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र प्रभावकारी सहभागिताका सन्दर्भमा सोमबार(आज) नेपालगन्जमा आयोजित सरोकारवालासँगको अन्तरक्रियात्मक संवादमा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।
प्रशासन अधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, यौनिक तथा अल्पसंख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम, मधेसी महिलाको समेत प्रतिनीधीत्व रहेको कार्यक्रमका अधिकांश वक्ताले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल पार्न समन्वय र सहकार्यात्मक भूमिका निर्वाह गर्ने वचनबद्धता प्रकट गरेका हुन् ।
यौनिक तथा अल्पसंख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता तथा असक्त मतदातालाई प्राथमिकताका साथ सहज मतदान गर्ने व्यवस्था मिलाइनु पर्ने सम्बद्ध प्रतिनीधीले माग गरेका छन् ।
यौनिक तथा अल्पसंख्यक शिला गुरुङले बाँकेमा तेस्रो लैंगिकको संख्या पाँच सय बढी रहेपनि पहिचानसहितको नागरिकता नभएका कारण महिला या पुरुषकै लाइनमा लागेर मतदान गर्नु पर्ने अवस्था सिर्जना भएको बताए ।
लोपोन्मुख समुदायका सव्वीर किंघरियाले सीमान्तकृत समुदायमा मतदाता शिक्षा नपुगेको भन्दै मतको महत्वका बारे पनि प्रकाश पार्न आवश्यक रहेको बताए ।
राष्ट्रिय अपाङ्ग महासंघका सचिव भावुकजंग थापाले अपागंता भएका व्यक्तिहरुका लागि विद्युतीय मेशीनमार्फत मतदानको व्यवस्था गरिनुपर्ने सुझाव दिए । अधिकारकर्मी प्रकाश उपाध्यायले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको भन्दै मतदान गर्ने लाइन, खानेपानी, शौचालय लगायतमा विशेष ध्यान दिनु पर्ने आवश्यक्ता औल्याए ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावलले अपाङ्ग, ज्येष्ठ नागरिक लगायतका सबै मतदातालाई सुरक्षित मतदान गर्ने अधिकार सुनिश्चिता गरिनु पर्नेमा जोड दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले यसपाली सुरक्षा थे्रट नरहेको, मतदान केन्द्रको नियमित स्थलगत अवलोकनसँगै सुरक्षा विश्लेषणसहितको तयारी रहेको जानकारी दिए ।
शान्ति सुरक्षा, निर्वाचन आचारसहिंता पालना लगायतका विषयमा पनि सरोकारवालाबीच समन्वय र सहकार्य भइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
छलफलमा आएका जिज्ञाशा र सवालको जवाफ दिदैँ शर्माले आपङ्ता, ज्येष्ठ नागरिक लगायतका मतदाताको सहज पहुँचलाई प्राथमिकता राख्दै विशेष सतर्कता अपनाइने पनि दोह¥याए ।
मतदान केन्द्रलाई मतदातामैत्री बनाउन आवश्यक समन्वय, संवाद र सहकार्यका लागि सहभागीले प्रतिबद्धता जनाएका छन् ।
संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजीकरण गरिएको कार्यक्रममा बादी समुदायकी अगुवा नेतृ सुशीला नेपाली, कशौधन महिला मञ्चकी अध्यक्ष सीतादेवी वैश्य, मुस्लिम महिला अगुवा मैमुना सिद्दिकी, मधेसी समुदायका अगुवा, सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारी, पत्रकार महिला विमला चौधरी लगायतले निर्वाचन व्यवस्थित गर्ने सन्दर्भमा आआफनो सुझाव राखेका थिए ।
बाँकेमा १८ वर्ष पुरा भएका कुल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।