मनाङमा २१० जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार अपुग


मनाङमा २१० जनाको उम्मेदवारी दर्ता, महिला उम्मेदवार अपुग

मनाङ १३ वैशाख : स्थानीय तह निर्वाचनमा हिमालपारिको जिल्ला मनाङमा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार गाउँपालिकामा आइतबार र सोमबार गरी कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८ र नार्पाभूमि गाउँपालिकामा २७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।

यस्तै चार गाउँपालिकामा अध्यक्ष पदका लागि नौ र उपाध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्य पदमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन् ।

आठ पदमा एकल मनोनयन

Kids Festival 2022
kanti aarogya hospital
add

स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा जिल्लामा आठ पदमा एकल उम्मेदवारी परेको छ । आवश्यक पद संख्या जतिमात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र घोषणा गरिने निर्वाचन कार्यालयले जनाएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ को वडाध्यक्षमा कृष्ण लामा (स्वतन्त्र) को वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । त्यस्तै ङिस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा च्योल्पा गुरुङ र ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङको एकल उम्मेदवारी परेको छ ।

यस्तै चामे गाउँपालिका–१ मा एमालेका खड्कजङ्ग गुरुङ र २ मा काँग्रेसका मङ्गलदेव गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । नासोँ गाउँपालिकाको ५, ६ र ७ मा पनि वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । नार्पाभूमि गाउँपालिका–१ मा पनि एकल उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । मनाङमा महिला उम्मेदवार पाउन मुस्किल भएको छ । उम्मेवार दर्तामा महिला सदस्य अपुग देखिएको छ । नार्पाभूमि गाउँपालिकाका पाँच वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन ।

नार्पाभूमि गाउँपालिकाका पाँच वडामा महिला सदस्यमा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए । ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै चामे गाउँपालिकामा विभिन्न वडामा गरी १८ महिला सदस्यको सिट सुनिश्चित छ । तर, महिला सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । नासों गाउँपालिकामा महिला सदस्य १४ र दलित महिला सदस्यमा आठ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । -रासस