अरु नेता जस्तो मिठा कुरा गरेर अल्झाउन मलाई आउँदैन, जे बोल्छु, त्यो पूरा गरेर छोड्छु : मल्ल

११२ बुँदे प्रतिबद्धता सार्वजनिक


अरु नेता जस्तो मिठा कुरा गरेर अल्झाउन मलाई आउँदैन, जे बोल्छु, त्यो पूरा गरेर छोड्छु : मल्ल

खजुरा(बाँके) १३ वैशाख : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रचारप्रसार तथा अभियानलाई तीव्रता दिएको छ । चुनावी प्रचारप्रसार तथा अभियान अन्र्तगत एमालेबाट खजुरा गाँउपालिकाको अध्यक्षका उम्मेदवार सुमन मल्लले मंगलवार ११२ बुँदै प्रतिबद्धता पत्र सार्वजनिक गरे ।

ठूलो संख्यामा उपस्थित मतदातामाझ खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार मल्ल, निर्वतमान खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, एमाले खजुरा गाउँपालिका प्रचार प्रसार संयोजक भीम ओली, एमाले खजुरा अध्यक्ष गेहेन्द्र धिताल, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भक्तबहादुर केसी लगायतले उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अध्यक्षका उम्मेदवार मल्लले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा अक्षरस कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । उनले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा पूरा नभए गाउँपालिकाको कार्यालयमा लिएर आउन आग्रह गरे । ‘यो प्रतिबद्धता पत्र सिरानी मुनी सुरक्षित राख्नु होला । यो प्रतिवद्धता पत्रमा उल्लेख भएको यो यो कुरा पूरा भएन भनेर म कहाँ लिएर आउनु होला ।’

उनले अरु जस्तो आफूलाई मिठा कुरा गर्न नआउने बताउँदै म बचन पूरा गर्ने आफ्नो बानी भएको बताए । ‘म बचनको पक्का छु । अरु नेता जस्तो मिठा कुरा गरेर अल्झाउन मलाई आउँदैन । जे बोल्छु, त्यो पूरा गरेर छोड्छु । प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरा हुबहू पूरा गर्ने प्रतिवद्धता जनाउँछु,’ मल्लले भने ।

Kanti Aarogya Hospital Nepalgunj

उनले आफू जनताको सेवा गर्नकै लागि चुनावमा होमिएको स्पष्ट पारे । उनले राजनीतिमा आउनुको मुख्य उद्देश्य खजुराको विकास गर्नका लागि भएको उनले बताए । ‘मलाई खान, लाउन पुगेकै छ । सरकारी रकमको लोभलालच पनि छैन मलाई । मेरो एकमात्र उद्देश्य खजुराबासीको सेवा र विकास गर्नु हो,’ उनले भने ।

शिक्षामा गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार भन्ने नारालाई अघि सारिएकोछ । स्वयत्त व्यवस्थापनसहितको बुढानिलकण्ठ स्कुलको मोडलमा एक विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता गरिएकोछ ।

यस्तै मल्लको प्रतिबद्धता पत्रमा निरोगी खजुरा, स्वस्थ्य खजुरेली भन्ने नारा अघि सारिएकोछ । हरेक महिना स्वास्थ्य शिरिदेखि १५ वर्षमुनिका बालबालिकाको मुटुको भल्व फेर्न तथा मृगौला सम्बन्धी रोगको नियमित डायलासिस गर्नुपर्ने विरामीलाई एक लाखसम्म सहयोग गर्ने प्रतिबद्धता गरिएकोछ ।

स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी भन्ने नारा अघि सार्दै एक घर एक धारा अभियानदेखी सबैलाई खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गरिनेछ ।

प्रतिबद्धतापत्रमा उज्यालो खजुरा, झिलिमिलि खजुरा, सडक यातायाता तथा अन्य भौतिक पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध शहरी विकास, समृद्धिका लागि कृषि, पशुपंक्षी र सहकारी, भूमिहीन किसान, कला र संस्कृति, पर्यटनबाट समृद्धि, युवा रोजगारी र उद्यमशीलता तथा खेलकुद, महिला समानता र सशक्तिकरण, खुशी जष्ठ नागरिक, सुखी बालबालिका अपांगमैत्री खजुरा, वन, वातावरण र विपद् व्यवस्थाप, मेलमिलाप, न्याय र मानव अधिकार, संस्थागत सुदृढिकरण र योजनाबद्ध विकास लगायतका शीर्षकहरु समेटिएकाछन् ।