नेपालगन्ज १५ बैशाखः सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आईतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’ नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।
त्यसो त नेपालमा हप्तामा दुई दिन सार्वजनिक विदा यसअघि पनि प्रचलनमा थियो । काठमाडौं उपत्यकामा २०५६ सालदेखि सातामा दुई दिन बिदा दिन थालिएको थियो । तर, २०५९ सालदेखि यो प्रावधान हटाइयो ।
तत्कालिन प्रशासनिक सुधार आयोगको सिफारिसलाई आधार मानेर कर्मचारीको उत्पादकत्व बढ्ने, कार्यालय समय ९ बजेदेखि सुरु गर्दा ट्राफिक व्यवस्थापन सहज हुने, कार्यालय सञ्चालन खर्च र इन्धन खपतमा कमी आउने र कर्मचारीको वर्क–लाइफ ब्यालेन्समा आउने तथा घुमफिरको प्रवृत्ति समेत बढ्ने भन्दै यो प्रावधान कार्यान्वयनमा ल्याइएको थियो ।
२०५९ सालमा यो प्रावधान खारेज गर्ने समयमा भने ठोस अध्ययन नभएको पाइएको छ । २०४८ सालमा गठन भएको प्रशासन सुधार आयोगले दुई दिन बिदाको सिफारिस गरेको थियो ।
दुई दिन सार्वजनिक विदाका विषयमा यसअघि पनि छलफल भएको थियो । कोरोना महामारीका कारण अत्यधिक प्रभावित भएको पर्यटन क्षेत्र उकास्न कर्मचारीलाई दुई दिन विदा दिने र भ्रमणमा प्रोत्साहन गर्ने विकल्प अगाडि सारिएको थियो ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयका सहसचिवको नेतृत्वमा एक कार्यदल बनाएर सार्वजनिक बिदाका सम्बन्धमा अध्ययन गराएका थिए । सो कार्यदलले पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ ।