सञ्चारकर्मीसँग संवाद : आचारसंहिता पालना गर्ने प्रतिवद्धता


सञ्चारकर्मीसँग संवाद : आचारसंहिता पालना गर्ने प्रतिवद्धता

नेपालगन्ज १६ वैशाख : जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुले स्थानीय तह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचार संहिताको कार्यान्वयनमा प्रतिवद्धता जनाएका हुन् ।

संवाद समूह, बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो ।

निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउनु सञ्चारकर्मीको प्रमुख दायित्व भएको भन्दै आचार संहिता कार्यान्वयन गर्नु पर्ने कुरामा उनीहरु एकमत भएका हुन् ।

निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, सञ्चारकर्मी लगायत ३५ जनाको सहभागिता रहेको कार्यक्रममा अधिकांस सञ्चारकर्मीले आचारसंहिता पालना गर्ने दायित्वबाट विमुख नहुने वचनबद्धता प्रकट गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निर्वाचन स्वच्छ, निष्पक्ष र सफल पार्न सञ्चारकर्मीको अंह भूमिका रहने भन्दै निर्वाचन आचार संहिता पालना गर्नु सञ्चारकर्मीको प्रमुख दायित्व भएको बताए । सञ्चारकर्मीद्वारा कहीं कतै आचारसंहिता उल्लंघन गरिएमा चोख्याउने र जोगाउने कार्य पत्रकार महासंघले नगर्ने पनि उनले स्पष्ट पारे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सञ्चारकर्मीले निर्वाचन आचारसंहितालाई पालना गर्ने र गर्न लगाउने बातावरण सिर्जना गरिदिन आह्वा गरे ।

गलत सूचना प्रवाह नहोस् भन्नका लागि सञ्चारकर्मीलाई भरपर्दो र सहज सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गरिने उनले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता राखीएको भन्दै उनले सञ्चारकर्मीले आचारसहिंता पालना भए नभएको विषयलाई उजागार गरेर थप सतर्कता अपनाउने वातावरण सिर्जना गरिदिनु पर्ने आवश्यक्ता औल्याए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीले निर्वाचनको संवेदनशीलतालाई आत्मसात गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मी प्रतिबद्ध रहनु पर्नेमा जोड दिए ।

सञ्चारर्मीलाई निर्वाचनसँग सम्बन्धी सूचना सहज प्राप्तीको वातावरण मिलाईदिन पनि सचिव डाँगीले आह्वान गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाह, सुशिल पोखे्रल, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष रुद्र सुवेदी, पत्रकार कृष्ण अधिकारी, सावीत्री गीरी लगायतले आचारसंहिता कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध रहेको बताए ।

समुहका सहजकर्ता एवं सञ्चारकर्मी शुक्रऋषि चौलागाइले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीले पालना गर्नु पर्ने आचरण बारे अवगत गराएका थिए भने समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले धन्यवादज्ञापन गरेका थिए ।

स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अति संवेदनशिल र २४ संवदेनशील मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।