नेपालगन्ज १७ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाका पूर्वमेयर तथा लोसपाका नेता विजयकुमार गुप्तासहित ४९ जनाले सामुहिक राजीनामा दिएकाछन् ।
पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका हुन् । गुप्ता वरिष्ठ अधिवक्ता समेत हुन् ।
पार्टीभित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक–पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना नेताहरु तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएको बताइएकोछ ।
संविधान संशोधन विधेयक तथा नेपालगन्ज विश्वविद्यालय विधेयक पारित गर्न असहयोग गर्ने नेकपा एमालेसँग सहकार्य गरेकाले पनि पार्टी छाड्नु परेको उनीहरु भनाइछ ।
जिल्लामा पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य सवेन्द्रनाथ शुक्लाले मनपरी गरेको र स्थानीय निर्वाचनमा पार्टीको जिल्लास्तरको नेतृत्वसँग कुनै सुझाव सल्लाह नगरी कार्यकर्ताको मनोबल गिराउने खालको गतिबिधि भएकाले राजीनामा दिएको लोसपाकी महिला नेतृ रेखा गुप्ताले जानकारी दिइन् ।
‘पार्टीभित्रको रवैया ठिक छैन, केन्द्रिय कार्यकारीणी सदस्य शुक्लाको मनपरी छ’, महिला नेतृ गुप्ताले भनिन्, ‘आफूखुसी गरेका छन्, त्यसकारण आफूहरुले राजीनामा दिएका छौं । अझै करिब सय जना जति नेता तथा कार्यकर्ताले राजीनामा दिने तयारी छ ।’
स्थानीय तह निर्वाचनको मुखमै आएर लोसपाका नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएपछि यतिबेला बाँकेको राजनीति बृत्तमा चर्चा चुलिएकोछ । यसअघि लोसपाले नेपालगन्जसहित बाँकेका विभिन्न पालिका र केही वडामा आफ्नो पकड बलियो भएको भन्दै आफ्ना उम्मेदवारलाई अघि सारेको थियो ।