जानकी (बाँके) १७ वैशाखः बाँकेको जानकी गाउँपालिकामा एमालेबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार हिमान्सु यादवले छोरीहरुको पढाईलाई फोकस गरेकाछन् ।
जानकी गाउँपालिकामा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास छ । यहाँ विशेष गरेर छोरीहरु ५–६ कक्षाभन्दा माथि उक्लिएको देखिँदैन । गरिबी, चेतनाको अभाव, बालविवाहजस्ता कारणले छोरीले बीचैमा विद्यालय छाड्न बाध्य छन् ।
छोरीको पढाइमा धेरै पछाडि रहेको जानकीमा बीचैमा विद्यालय छाड्ने (ड्रपआउट) धेरै भएपछि गाउँपालिका प्रमुखका उम्मेदवार हिमान्सुले छोरीहरुको पढाईलाई फोकस गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरे ।
शिक्षा शाखाको गत वर्षको तथ्यांक हेर्दा जानकीमा एक कक्षामा सय जना भर्ना हुँदा दश कक्षासम्म पुग्दा जम्मा ११ जना पुग्ने गरेका छन् । जसले गर्दा हिमान्सुले जानकीका छोरीहरुको शिक्षामा पहुँच बृद्धि गर्ने भन्दै प्राथमिकतामा राखेकाछन् ।
पार्टीगत उम्मेदवारहरूले आ–आफ्ना प्रतिबद्धता र आश्वासन बाँडिरहेका बेला जानकी गाउँपालिकामा एमालेबाट अध्यक्षमा उम्मेदवार बनेका २९ वर्षीय हिमान्सुले छोरीहरूको पढाइमा फोकस गरेका हुन् ।
उनले छोरीलाई उच्च शिक्षासम्म पु¥याउने प्रतिबद्धता गरेका छन् । जानकीमा २४ वटा सामुदायिक विद्यालय, १५ वटा मदरसा र ८ वटा संस्थागत विद्यालय छन् ।
हिमान्सुको प्रतिबद्धतामा भनिएको छ, ‘सामुदायिक विद्यालयबाट अध्ययन गरेका उच्च शिक्षा अध्ययन गर्ने छात्राहरूलाई ल्यापटप प्रदान गरिने छ । ११ कक्षामाथिका छात्रालाई साइकल उपलब्ध गराइने छ । पालिकाभित्रका सबै वडामा १२ कक्षासम्मको अध्ययन, अध्यापन २०७९ सालभित्र नै सुरुवात गरिनेछ । सबै सामुदायिक विद्यालय र मदरसामा कक्षा १२ सम्म अनिवार्य र निःशुल्क कम्प्युटर शिक्षाको पढाइ गराइने छ। पालिकाका उत्कृष्ट छात्र र छात्रालाई प्राविधिक विषयमा स्नातक तहसम्म अध्ययनका लागि विशेष छात्रवृत्ति प्रदान गरिनेछ। गरिब, दलित तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरिनेछ ।’
यस्तै हिमान्सुले शिक्षासँगै स्वास्थ्य, कृषि, सिँचाइ, भौतिक पूर्वाधार, वन वातावरण, महिला तथा बालबालिका, युवा रोजगार, खानेपानी, खेलकुद, पर्यटन तथा धार्मिक र संस्थागत विकासलाई पनि जोड दिएका छन् । एमालेका युवा नेता हिमान्सु यसअघि जानकी गाउँपाकिलाका प्रमुख स्वर्गीय रामनिवास यादवका छोरा हुन् । उनी कुसल युवा ब्यवसायी समेत हुन् ।