नेपालगन्ज १८ वैशाख : सरकारले नेपाल प्रहरीको नयाँ आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । वि.सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह २०७९ मा आइपुग्दा संगठन प्रमुख अर्थात् आईजीपी बने ।
कर्णाली प्रदेशको दैलेख पुर्ख्यौली घर भएका सिहंले एमए, बीएलसम्मको अध्ययन नेपालगन्जमा गरे । सानैदेखि खेलकुदमा रुचि भएका सिंहले सुरुमा प्रहरीमा प्रवेश गर्ने सोच भने बनाएका थिएनन् ।
आईजीपी सिंह भन्छन्, ‘घरनजिकै नेपालगन्जमा प्रहरीको व्यायामशाला थियो, म सानै थिएँ । म पनि खेल्न जान्थेँ । त्यहाँ जाँदाजाँदै प्रहरी बन्ने रहर लाग्यो । त्यसरी म प्रहरी भएँ ।’
सामान्य परिवारमा जन्मिएका आईजीपी सिंहका एक छोरा र एक छोरी छन् । छोरी मेडिकल शिक्षा अध्ययनरत छिन् ।
सिंहका अनुसार प्रहरी सेवामा भर्ना हुँदा तालिमपछि उनी एक नम्बर भएका थिए । उनले नुवाकोट, गोरखा, दोलखा, पर्सा, दाङ, अपराध महाशाखा, प्रदेश नम्बर–२ र केन्द्रिय अनुसन्धान ब्युरोको प्रमुख भएर काम गरिसकेका छन् ।
आफ्नो नेतृत्वमा प्रहरीलाई अझ बढी व्यावसायिक बनाएर लैजाने उनी बताउँछन् । -बाह्रखरीबाट