बाँके (नरैनापुर) १९ वैशाख : फुसको छाना हटाउने प्रतिवद्धता लिएर बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।
नेपाली काँग्रेसबाट गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्य र उपाध्यक्ष पदका उम्मेदवार अतिकुन निशाले मतदाता भेटघाटका क्रममा फुसको छाना हटाउने योजना प्राथमिकतामा रहेको बताए ।
बाँके जिल्लामा नरैनापुर गाँउपालिका सबैभन्दा बढी आगलागी हुने क्षेत्र हो । केहिदिन अघि मात्रै १५ घरगोठ जलेर नष्ट भएको थियो । वर्षेनी आगलागीका घटना हुने र उठिबास नै हुने अवस्था देखीने गरेकाले आफूहरु निर्वाचित भएपछि फुसको छाना हटाउने योजना पहिलो प्राथमिकतामा रहेको अध्यक्ष पदका उम्मेदवार रामचन्द्र मौर्यले बताए । यसका लागि एक घर सुरक्षित आवास कार्यक्रम सन्चालन गर्ने उनको भनाई छ ।
यसका साथै गाँउपालिकामा कृषि क्षेत्रको विकासका लागि किसानलाई, मल, विउ, किटनाशक औषधि वितरण गर्ने, मोटरपम्म वितरण गर्ने योजना रहेको बताए । त्यस्तै राम्रो नश्लको गाईभैसीपालन, बाख्रापालन लगायतका कार्यक्रम सञ्चालन गर्ने, गोठ सुधार कार्यक्रम, निशुल्का पशु विमा लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।
स्वास्थ्य क्षेत्रतर्फ घरघरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने, सामाजीक सुरक्षा भत्ता घरमै पुर्याउने, गाँउपालिकाका ३ वटा ठाउँमा दिशा, पिसाब, रगत लगायतका जाँच गर्ने ल्याब स्थापना गर्ने, नि:शुल्क एम्बुलेन्स सेवा लगायतका योजना छन् ।
यस्तै प्रविधिसंग गाँउपालिकालाई जोड्न ठाउँ–ठाउँमा फ्रि वाइफाईको व्यवस्था गरिने छ । युवाहरुका लागि रोजगारी, छोरी जन्मेपछि प्रोत्साहन रकम बैंक खातामा जम्मा गरिने लगायतका प्रतिवद्धतासहित उम्मेदवारहरु घरदैलोमा पुगिरहेकाछन् ।
यसैविच आज सोमबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ को प्रशरामपुर, दौलतपुर, खोदावामा घरदैलो कार्यक्रम गरिएको छ । कार्यक्रममा वडाध्यक्ष पदका उम्मेदवार मनोजकुमार शर्मा, नेपाली काँग्रेस क्षेत्रीय सदस्य क्षेत्र नम्बर १ का गुरुमुरत यादव, क्षेत्रीय प्रतिनिधि रामानन्द शर्मा लगायतको सहभागिता थियो ।