नेपालगन्ज १९ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगन्जलाई स्मार्ट सिटी बनाउने उद्घोष गरेका छन् ।
भन्नका लाग होइन गर्नका लागि मिश्रले उक्त योजना ल्याएका हुन । निर्वाचनमा समेत हाइटेक प्रचार गरिरहेका मिश्रसंग नेपालगन्जलाई कसरी स्मार्ट सिटी बनाउने भन्ने प्रष्ट भिजन रहेको छ ।
उमेरले ६० कटे पनि प्रविधिको प्रयोगमा भने नयाँ पुस्तालाई समेत मिश्रले उछिनेका छन् । स्मार्ट सिटी निर्माणका लागि उनले युवाहरुलाई नेतृत्वदायी भूमिका दिने योजनामा छन् ।
युवाहरूको शारीरिक तथा मानसिक विकासकालागि आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था, अन्य पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने मिश्रले बताए ।
रोजगारीको अवसर सिर्जना गर्न लगानी–मैत्री वातावरण बनाइने बताउँदै उनले स्टार्ट अप कल्चरलाई प्रोत्साहन गर्ने बताए ।
‘स्थानीय युवा हरुलाई स्मार्ट सिटीको लागि चाहिने साफ्टवेयर,ईन्टरनेट अफ् थिंग्स लगायतका सामाग्रीको निर्माणलाई प्रोत्साहित गरिनेछ ।’ योजना सुनाउँदै मिश्रले भने– ‘नयाँ ब्यापार व्यवसाय सुरु गर्न चाहने युवाहरुलाई बिजनेश आइडिया सम्बन्धी सुरुवाती पुँजीको व्यवस्थाका लागि बैंक तथा अन्य वित्तिय संस्थासँग समन्वय गरिने छ ।’
पाँच वर्षे कार्यकालमा स्मार्ट सिटीका लागि आवश्यक पर्ने सफ्टवेयर, पाइलट प्रोजेक्टका रुपमा स्मार्ट वेष्ट कलेक्सन सिस्टम र स्मार्ट रिर्पोटिङ्ग सिस्टम तयार गर्ने योजना बनाएका छन् । त्यो कसरी सम्भवत छ त ? बिदेशबाट महंगो सफ्टवेयर किन्नु भन्दा स्थानीय युवालाई मार्ग निर्देशन गरी स्थानीयरुपमा सफ्टवेयरको विकास गर्न लगाउन सके कुनै झन्झट गर्नुपर्ने छैन । इच्छा शक्ति भए काम गर्न समस्या नहुने मिश्रले बताए ।
ईन्टरनेट अफ् थिंग्सका लागि आवश्यक पर्ने केही सेन्सर मात्र खरिद गरी अन्य सामाग्री निर्माणको जिम्मा स्थानीय युवालाई दिने योजना छ । त्यसरी काम गर्दा युवालाई रोजगारी र उनको क्षमता विकास गर्ने बाटो खुल्छ भने उपमहानगरको खर्च पनि जोगिन्छ ।