आज अक्षय तृतीया मनाईदैं


आज अक्षय तृतीया मनाईदैं

नेपालगन्ज २० वैशाखः वैशाख शुक्ल तृतीया अर्थात (अक्षय तृतीया) आज मङ्गलबारका दिन दान, होम, जप, तप गरी मनाइदैँछ । वैशाख शुक्ल तृतीयाको दिन गरिने दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले यस दिनलाई अक्षय तृतीया भनिएको हो ।

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा धेरै विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोग हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ ।

ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भन्ने गरिन्छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । त्यसैले यस दिनलाई परशुराम जयन्ती पनि भनेर मनाउने चलन छ ।

अक्षय तृतीयालाई जौको सातु र सर्वत खाने पर्व भनेर पनि चिनिन्छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राहृमणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । यस दिन आगन्तुक सबैलाई जौको सातु र सर्वत खुवाइन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

वैशाखको गर्मीमा सर्वत र सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

विष्णु र लक्ष्मीको पूजा सँगसँगै

वैशाख शुक्ल तृतीयाकै दिन त्रेता युग शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाको दिन निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा शुभ फल प्राप्त हुने र लक्ष्मीको बास हुने धार्मिक विश्वास छ ।

समृद्धि र सौभाग्यको ईच्छा राख्नेहरुले अक्षय तृतीयाको दिन भुलेर पनि विष्णु र लक्ष्मीको पूजा अलग–अलग गर्नु हुँदैन । किनभने विष्णु र लक्ष्मी पति–पत्नी हुन् । यस अवसरमा लक्ष्मी र विष्णुको एकसाथ पूजा गरेमा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

अक्षय तृतीयाको दिन कसैप्रति पनि क्रोधको भावना राख्नु हुँदैन । यदि कसैप्रति वैरभाव राखेमा पनि लक्ष्मीको बास नहुने र शुभ फल नमिल्ने धार्मिक विश्वास छ ।