काँग्रेस वडा नम्बर १८ को १८ प्रतिबद्धताः

आफ्नै वडामा अस्पताल, वडाअध्यक्षले तलबभत्ता नलिने


आफ्नै वडामा अस्पताल, वडाअध्यक्षले तलबभत्ता नलिने

नेपालगन्ज २० वैशाख : सबैको साथ, सबैको विश्वास र सबैको विकास’ भन्ने मूल मन्त्रसहित नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ ले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल प्रसादअधिकारी, काँग्रेस नेता मैकुशेष बेहना, काँग्रेस वडा सभापति जगदीशप्रसाद कुर्मी, उपप्रध्यापक डाक्टर राजेश केशर खनाल, शिक्षक नेता रमेशकुमार मिश्र, अधिबक्ता ईश्वरी प्रसाद ज्ञवाली, अग्रज नेताहरु सञ्जय थापालगायतले प्रतिबद्धतापत्र सार्बजनिक गरेका थिए । उक्त प्रतिबद्धता पत्र काँग्रेसका वडा उपसभापति राजाराम सुवेदीले वाचन गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामध्ये आफ्नो वडाको छुट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने वडा नम्बर– १८ पहिलो हो । प्रतिबद्धतापत्रमा सम्मृद्ध वडाको परिकल्पना गरिएको छ । प्रतिबद्धतापत्रमा सामुदायिक विद्यालयको स्तर सुधार गर्दै संविधानले व्यवस्था गरे अनुसारको गुणस्तरीय निःशुल्क शिक्षा सबैको पहुँचमा पु¥याउने तथा गुणस्तरीय सामुदायिक बालविकास केन्द्रहरू सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै सबै सामुदायिक विद्यालयहरूमा पुस्तकालय, बालमैत्री कक्षाहरू, प्राविधिक शिक्षा, इ–लाइब्रेरी, शुद्ध खानेपानी, पर्याप्त शौचालय तथा स्यानेटरी प्याडको व्यवस्थाका लागि पहल गरिने भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

जेष्ठ नागरिकलाई नेपाल सरकारले तोके अनुसार निःशुल्क वितरण गर्ने औषधिहरुलाई सहजरुपमा उपलब्ध गराइने, वडामा १५ बेडको अस्पताल निर्माण गरी एमबिबिएस चिकित्सकको व्यवस्था गर्ने, निःशुल्क स्वास्थ्य बीमाको दायरा बढाउँदै सबै वडावासीलाई वीमा कार्यक्रममा आवद्ध गराउने, वडामा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

वडामा कृषि क्षेत्रको विकासका लागि कृषकहरूलाई सहजरूपमा सिँचाइ, उन्नत बीउविजन, कृषि तालिम तथा बजारीकरणका लागि सहकारीहरु स्थापना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै वडामा फोहर मैलाको निःशुःल्क व्यवस्थापन गरिने भएको छ । नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मंगलप्रसाद वर्मा (सानु)ले प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा आफु निर्वाचित भए सरकारी तलवभत्ता नलिने घोषणा गरेका छन् ।

उनले उक्त तलवभक्ता गरिव तथा विपन्नवर्गको हितमा खर्चिने बताए । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा वर्मासँगै सदस्य पदमा केशु पोख्रेल (महिला सदस्य), सरोज सोनकर (दलित महिला सदस्य), रामबहादुर भण्डारी (खुल्ला सदस्य) र रामप्रसाद मुराउ (खुल्ला सदस्य) उम्मेदवार छन् ।