नेपालगन्ज २० वैशाख : आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।
अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।
इदका अवसरमा नेपालगन्जको विपी चोकमा रहेको इदगाहमा यो वर्ष फरक दृष्य देखियो । लगातार दुई वर्षको कोरोना कहरपछि र स्थानीय तहको निर्वाचनको मुखमै इद पर्व परेपछि फरक दृष्य देखिएको हो ।
इदगाहमा इदको सामुहिक नमाज पढ्न उपस्थित भएका मुस्लिम समुदायको घुँइचो भएपछि सडक र पेटीमै नमाज पढिएको थियो ।
नमाज पढेपछि औपचारिकरुपमा एकअर्कालाई गला मिलाएर इदको शुभकामना प्रदान गरिएको थियो । सो क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख विपी चोकमा पुगी गला मिलाएर ईदको शुभकामना साटेका थिए । यतिमात्र होइन सो क्रममा उनीहरुले आफूलाई जिताउन भोट गर्न आग्रह समेत गरेका थिए ।
विपी चोक पुगेका नेपाली काँग्रेस र जसपा गठबन्धनबाट नेपालगन्जको प्रमुखका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई, नेकपा एमालेका पशुपतिदयाल मिश्र, राप्रपाका नन्दलाल वैश्य र विन्दु चर्तीमगरलाई शुभकामना दिन र लिन भ्याइ नभ्याइ भएको थियो ।