कोहलपुरमा एमाले उम्मेदवारको प्रतिवद्धता : मुक्त कमैया वस्तीलाई नमूना बनाउने


कोहलपुरमा एमाले उम्मेदवारको प्रतिवद्धता : मुक्त कमैया वस्तीलाई नमूना बनाउने

कोहलपुर २० वैशाख : नेकपा एमालेले कोहलपुरमा ‘हामी बनाउँछौैं–हाम्रो कोहलपुर, राम्रो कोहलपुर’ नारा सहित भौतिक पूर्वाधार तथा यातायातको विकासका सवालमा बिभिन्न प्रतिवद्धताहरु गरेको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर उम्मेदवार अस्मिताकुमारी थारुले विकासका अन्य क्षेत्रहरुलाई समेत उच्च प्राथमिकतामा राखेको छन् ।

पूर्वाधार निर्माणको सवालमा मुक्त कमैया वस्तीलाई नमूना वस्तीका रुपमा विकास गर्ने उद्घोष गरेको छ । त्यस्तै प्रत्येक वडामा बालबालिकाका लागि चिल्ड्रेन पार्कको निर्माण, एक एक सुविधा सम्पन्न सामुदायिक भवन, मुस्लिम, मधेशी, आदिवासी/जनजाति लगायत सबै लाभान्वित हुने गरी धर्मशाला निर्माण गर्ने प्रतिवद्धता गरेका छन् ।

विद्युत्, टेलिफोनका तार, टिभि केवल र खानेपानीका पाइपहरु व्यवस्थित गर्ने, नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई जोड्ने तथा समेट्ने गरी बाहिरी र भित्रि चक्रपथ बनाउने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् नगरपालिकाको केन्द्रसँग जोड्ने र हरेक वस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, जीर्णअवस्थाका धार्मिक स्थलहरुको मर्मतसंभार गर्ने र योग तथा ध्यान केन्द्रको निर्माण गर्ने, प्रत्येक वडामा एक एकीकृत सेवा केन्द्रको स्थापना गर्ने र छरिएका वस्तीहरुलाई एकीकृत गरी एकीकृत शहरी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रत्येक वडामा पुस्तकालय/वाचनालय, स्थानीय संस्कृति झल्कने संग्रहालय, प्रसुति केन्द्र (बर्थिङ सेन्टर), वडा प्रहरी कार्यालय, पशु उपचार तथा कृषि केन्द्र, पार्क, बालगृह, बालउद्यान, बाल विकास केन्द्र, जेष्ठ नागरिक विश्रामगृह, तालिम केन्द्र र खेलकूद मैदान लगायतका आवश्यक संरचनाहरु निर्माण गर्दै टाउन प्लानिङका पार्कहरुको स्तरोन्नतिका लागि गुरुयोजना तयार पार्ने प्रतिवद्धता उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

सार्वजनिक जग्गाको खोजी, पहिचान, संरक्षण र उपयोग गर्ने, पाालिका बनाउने क्रममा नगरपालिकामा गाभिएका नयाँ क्षेत्रहरुमा विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणलाई प्रोत्साहित गर्दै ती क्षेत्रहरुमा शहरीकरणलाई तीब्र र व्यापक बनाउने, संघ र प्रदेशसँग सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पिडित आवास तथा दलित समुदायको आवास कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने, फुसको छाना विस्थापित गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कोहलपुरको चप्परगौडी देखि सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश (लुम्बिनी र कर्णाली प्रदेश) सडक, एक हजार सिट क्षमताको आधुनिक र सुविधा सम्पन्न सभागृह, रिङ्गरोड, कर्भड हल, २५ शैय्याको बाल अस्पताल, १५ शैयाको आधारभूत अस्पताल, तिलगंगा आखा अस्पतालको कोहलपुर युनिट, योग एवं प्राकृतिक अस्पताल निर्माण तथा संचालन गर्ने र गोलपार्कमा निर्माणाधीन भ्युटावरको निर्माण सम्पन्न गरी संचालनमा ल्याइने, कोहलपुर वडा नम्बर ११ को चौराह उत्तरमा आधुनिक पार्क र बहुउद्धेशिय आधुनिक रंगशाला निर्माण गर्ने, कोहलपुर नगरपालिकामा प्राविधिक शिक्षालय, औधोगिक ग्राम तथा औधोगिक क्षेत्र, अटो भिलेज निर्माण लगायत न्यूनतम सहरी पुर्वाधारहरुको विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिवद्धतापत्रमा सिक्टा सिंचाई आयोजनाबाट प्रभावित किसानहरु र जग्गा धनीहरुलाई उचित मुअब्जा वितरण तथा यसले कोहलपुर क्षेत्रमा सिर्जना गरेको डुवानको समस्या समाधान गर्ने र समयमा नै आयोजना निर्माणको कार्य सम्पन्न गर्नका लागि पहल गर्ने, वडा नम्बर– ११ स्थित लोकनगरमा रहेको मुक्त कमैया वस्तीलाई नमुना वस्तीको रुपमा विकास गर्ने, स्थानीय जनताहरुले भोगचलन गर्दै आएको साविक चटार ८ (क) को सार्वजनिक ऐलानी पर्ति जग्गा नेपाल सरकारको नाममा जग्गा धनी पुर्जा कायम गरेकोमा सो समस्याको न्यायोचित समाधान गरी भोगचलन गर्नेहरुको स्वामित्व कायम गर्नका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

त्यसै गरी साविक रझेना ७ क र ख को नक्शा बमोजिम फिल्डमा जग्गा नपुग भएर सिर्जित समस्याको समाधानका लागि पहल गर्ने, नगरपालिकाभित्र विभिन्न स्थानको डुवान तथा ढलनिकासको समस्या समाधान गर्न निर्माण गरिएको गुरुयोजनाको कार्यान्वयन गर्ने, पेडारीनाला, रोहिणीखोला, डुडुवा र किरणखोलामा आवश्यक स्थानहरुमा पुलहरु निर्माण गर्ने, रोहिणीखोला तटबन्ध निर्माण गर्ने र डुडुवामा तटबन्ध, ग्रिनबेल्ट, पदमार्ग तथा करिडोर निर्माण गर्ने प्रतिवद्धता गरिएको छ ।

नगरपालिका क्षेत्रभित्र रहेका राजमार्गहरुको संघीय सरकारसँग समन्वय गरी स्तरोन्नति गर्ने, आधुनिक बधशाला तथा शवदाहगृहको निर्माण कार्य अघि बढाउने, नगरपालिकाभित्र २ फेज विद्युत लाइनलाई ३ फेज बनाई आवश्यक ठाउँमा ट्रान्सफरमर राख्ने, सडकहरुलाई चौडा बनाउन¬को साथै जेब्रा क्रसिङ लगायत सडक संकेतहरुको व्यवस्था गर्ने, पैदल यात्रु तथा साइकल यात्र¬का लागि अलग लेनको व्यवस्था गर्ने, मूल सडक र प्रत्येक चोकमा हाइमास्क लाइट जडान गर्ने,स्थानीय सार्वजनिक सवारी साधनहरुको पार्किङको लागि निश्चित स्थलहरुको व्यवस्था गरिनेछ र जथाभावी पार्किङलाई कडाइका साथ नियन्त्रण गर्ने प्रतिवद्धता गरिएको छ ।

विद्युतीय सवारी साधनको संचालनमा विशेष जोड दिइने र विद्युतीय सार्वजनिक नगरवसको व्यवस्था गर्ने, साझाचोक र न्युरोड चोकमा आकासे पुल को निर्माण गर्ने, लामो दुरीका सवारी साधनहरुको लागि निर्माणधीन बस टर्मिनलको निर्माण सम्पन्न गरी संचालनमा ल्याउने, वातावरण मैत्री, यात्रुमैत्री, अपाङता र लैङ्गिकमैत्री तथा सवारी जोखीम न्य¬निकरण गर्ने गरी यातायात प्रणालीको स्थापना तथा प्रवद्र्धन गर्ने, ई–अटोरिक्साको लाइसेन्स, पार्किङ र संचालन प्रक्रियालाई व्यवस्थित गर्ने, पूर्व स्वीकृति नलिई कुनै ब्यक्ति, संस्था वा कम्पनीले जथाभावी जग्गा प्लटिङ वा प्लानिङ गर्न नपाइने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।